
- गोरखाआँबुखैरेनी सडकखण्डमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन्।
- घाइतेमध्ये १४ को मध्यम र ३ जनाको अवस्था सामान्य रहेको छ।
- सबै घाइतेहरूको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौ -गोरखाआँबुखैरेनी सडकखण्डअन्तर्गत पाँचकिलोमा बुधबार बस र ट्रक एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठका अनुसार गोरखाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००२ ख २६१५ नम्बरको ट्रक आपसमा जुधेका हुन्।

दुर्घटनामा घाइते भएकामध्ये १४ जनाको अवस्था मध्यम र तीन जनाको सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये बसचालक पोखरा महानगरपालिका–३२ का ४० वर्षीय डोलबहादुर विक, ट्रकचालक चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीका ३२ वर्षीय शमिर गुरुङ र ट्रकका सहचालक ३० वर्षीय निशान गुरुङ बढी घाइते भएका छन्।
घाइते सबैको तनहुँको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
