
- प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ।
- वाईसीएल सचिव धनबहादुर वलीले हुलाकमार्फत पठाएको जाहेरीमा हिरासतमा रहेका व्यक्तिको मोबाइलबाट प्रमाण मेटाएको आरोप लगाइएको छ।
- जाहेरीमा प्रधानमन्त्री र गृहमन्त्रीका सचिवालयका अन्य तीन कर्मचारीमाथि पनि छानबिन गर्न माग गरिएको छ।
काठमाडौ -प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ।

वाईसीएलका केन्द्रीय सचिव धनबहादुर वलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंमा हुलाकमार्फत जाहेरी पठाएका हुन्।

जाहेरीमा बेनसहितका व्यक्तिमाथि प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइलबाट प्रमाण मेटाएको र अनुसन्धान प्रक्रियालाई प्रभावित पारेको आरोप लगाइएको छ। उक्त मोबाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै बेनको घरसम्म पुर्याइएको दाबी गर्दै वलीले त्यससँग सम्बन्धित प्रमाणसमेत जाहेरीसाथ पेस गरेको बताएका छन्।
वलीले प्रधानमन्त्रीको सचिवालयका विशाल अधिकारी र चिराग श्रेष्ठ तथा गृहमन्त्रीको सचिवालयका जेम्स कार्कीमाथि समेत अनुसन्धान गर्न माग गरेका छन्।
यसअघि सोमबार जाहेरी दर्ता गराउन जिल्ला प्रहरी परिसर काठमाडौं पुगे पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको वलीले बताएका छन्। त्यसपछि उनले हुलाकमार्फत सम्बन्धित निकायमा जाहेरी पठाएका हुन्।
