
- मुगुको छायाँनाथ रारा नगरपालिकामा पर्यटक सवार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
- रारा जाने क्रममा जिमाकाँरा भिरबाट जिप करिब ३०० मिटर तल खसेको थियो जसमा परी दुई जना गम्भीर घाइते भएका छन्।
- घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ठिनी पठाइएको छ भने मृतकहरूको पहिचान खुल्न बाँकी छ।
रतन बहादुर रावल मुगु । काठमाडौंबाट रारा घुम्न आएका पर्यटक सवार जिप मुगुमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भिरबाट जिप करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाका अनुसार गाडीमा सवार पाँच जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका एक पुरुष र एक महिलालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ठिनी पठाइएको डीएसपी थपलियाले जानकारी दिनुभयो।
प्रहरीका अनुसार जिपमा चालकसहित चार पुरुष र एक महिला सवार थिए। घाइते हुनेमा गाडी धनीसमेत रहेका चालक पूर्णकुमार थापा र ललितपुरको सुनाकोठीकी कञ्चन थापा रहेका छन्। दुर्घटनामा ज्यान गुमाउने तीन जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शी स्थानीय टोप्ला गाउँका मनबहादुर मल्लका अनुसार भीरबाट खसेको गाडीमा सवार पाँच जनामध्ये चालक र एक महिला बाँच्न सफल भएका हुन्।

