
- चितवन राष्ट्रिय निकुञ्जबाट बगेको पाँच वर्षको गैँडा नवलपरासीको सुस्तामा फेला परेको छ।
- निकुञ्जका अधिकारीले गैँडाको निगरानी गर्दै उद्धारका लागि आवश्यक तयारी थालेका छन्।
- नारायणी नदीको बाढीले बगाएर अन्य वन्यजन्तु पनि भारतीय भूमि पुगेको हुन सक्ने अनुमान गरिएको छ।
चितवन।चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैँडा नारायणी नदीमा बगेर सुस्ता पुगेको छ। अन्दाजी पाँच वर्षको गैँडा सुस्ता गाउँपालिका–४ मा आज बिहान देखिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले गैँडा बगेर सुस्ता पुगेको सूचना पाएको लगत्तै गैँडाको निगरानीको काम थालिएको बताए।
उनले भने, ‘गैँडाको रेकी भइरहेको छ। उद्धार गरेर हामी ल्याउने तयारीमा छौँ।’
गैँडालाई डार्ट गरेर बेहोस बनाइ डुङ्गामा वा भारतीय बाटो हुँदै ल्याउनुपर्ने हुन्। सुस्ता नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) मा पर्दछ। त्यहाँ पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने हुन्छ।
नारायणी नदीमा शनिबार र आइतबार बाढी आउँदा नदी तटिय क्षेत्रबाट गैँडा बगाएको जनाइएको छ। नदीले बगाएर अन्य गैँडासहितका वन्यजन्तु भारत पुर्याएको हुन सक्ने अनुमान छ।
यसअघि विसं २०७४ साउन २८ गते राप्ती र नारायणी नदीमा बाढी आउँदा धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमि पुगेका थिए।
तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सह–सचिव डा रामचन्द्र कडेँलका अनुसार तत्कालीन समयमा भारतीय भूमिमा पुगेका १२ गैँडा उद्धार गरी ल्याइएको थियो।
