
- ताप्लेजुङको फले र घुन्सामा गरिएको स्याउको गुणस्तर परीक्षण सफल भएको छ।
- उच्च गुणस्तरको स्याउ उत्पादन हुने देखिएपछि व्यावसायिक खेतीको बलियो सम्भावना बढेको छ।
- कञ्चनजंघा पदमार्गमा पर्ने यी बस्तीमा स्याउ खेतीले स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ।
काठमाडौं।गुणस्तर परीक्षण समेत सफल भएको स्याउको उत्पादनले बर्षेनि सम्भावनाको आसा देखाउन थालेपछि ताप्लेजुङको हिमाली बस्ती फले र घुन्सामा स्याउको व्यावसायिक खेती गर्न सकिने देखिएको छ।

स्याउमा हुनुपर्ने स्वाद, दाना र चिनीको मात्रामा गुणस्तरीयता परीक्षण समेत सफल हुनु र परीक्षण उत्पादनले सम्भावना देखाउनुले स्याउको व्यावसायिक खेती गर्न सकिने बलियो आधार प्राप्त भएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए। स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका लागि रोपेका स्याउका बोटले गुणस्तरीय फल दिँदा स्थानीयमा उत्साह बढेको पालिका अध्यक्ष लिम्बूको भनाई छ।
स्थानीय नामग्याल शेर्पाले फलेमा फुजी,गाला र गोल्डेन डेलिसियस प्रजातिका स्याउको उत्पादन परीक्षणले व्यावसायिक खेतीको बलियो सम्भावना देखाएको जानकारी दिए। फले समुद्र सतहबाट करिब ३ हजार २ सय ३२ मिटरको उचाइमा रहेको बस्ती हो। घुन्सा भने समुद्र सतहबाट ३ हजार ४ सय ७५ मिटर उचाइमा रहेको छ। फले र घुन्सा कञ्चनजंघा पदमार्गमा पर्ने बस्ती हुन्। यो मार्ग हुँदै बर्षेनि ठुलो संख्यामा विदेशी पर्यटक विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा हिमालको आरोहण तथा भ्रमणका लागि जाने गरेका छन्।
