
- प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले भोगिरहेको जलवायु संकट र मानवीय समस्याबारे प्रभावकारी रूपमा आवाज उठाएका छन्।
- नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै विजयी सुरुवात गरेको छ भने सुनचाँदीको मूल्यमा समेत गिरावट आएको छ।
- नेपालका विभिन्न स्थानमा बाढी र कटानको जोखिम बढेको छ भने श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले सक्षम नेतृत्वका लागि सात बुँदे मापदण्ड प्रस्तुत गरेका छन्।
आज दिनभरका खबर नेपाल खोज खबर

१) काठमाडौ – श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले अध्यक्ष हर्क साम्पाङसहित अन्य दलहरुका शीर्ष नेतृत्वमाथि आलोचनात्मक टिप्पणी गरेका छन् ।
किरातीले सक्षम नेतृत्वमा हुनुपर्ने ७ बुँदे मुख्य विशेषता उल्लेख गर्दै भनेका छन्, ‘आफ्नो गल्ती र कमजोरी स्वीकार गर्ने, अरूमाथि दोष नथोपर्ने र जिम्मेवारीबाट नपन्छिने खाले नेतृत्व हुन आवश्यक छ ।’
श्रम संस्कृति पार्टीको ‘केचनाकवल सगरमाथा हातेमालो अभियान’ अन्तर्गत धनकुटाको पाख्रीबासमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । किरातीले पुराना पार्टीले पनि आफ्नो विगतको योगदानको मिटरब्याज उठाउन खोज्न नहुने बताए ।

उनले थप भने, ‘पुराना दलले गणतन्त्रलाई पैत्रिक सम्पत्तिको रूपमा उपभोग गर्न खोजे । त्यही भएर नयाँ पार्टी निर्माण गर्नुपर्ने परिस्थिति सृजना भयो ।’
यही कारण अहिले श्रम(संस्कृतिमा नयाँ पुस्ता र नयाँ ऊर्जा ज्वालामुखीको लाभा जस्तै उठेको किरातीको भनाइ छ । नयाँ पुस्ताको त्यो ऊर्जालाई शक्तिमा बदल्न कुशल नेतृत्व आवश्यक रहने उनले बताए । यसका लागि कुशल नेतृत्व निर्माण मूलभूत रूपमा केही गुण चाहिने बताउँदै ७ बुँदे विशेषता उल्लेख गरेका छन् ।
किरातीले उल्लेख गरेको ७ बुँदे विशेषता यस्ता छन्ः
१. आफ्नो गल्ती र कमजोरी स्वीकार गर्ने, अरूमाथि दोष नथोपर्ने र जिम्मेवारीबाट नपन्छिने
२. कुरा स्पष्ट रूपमा राख्ने, विषयलाई सरल ढंगले बुझाउन सक्ने र कठिन परिस्थितिमा पनि सबैसँग खुला संवाद गर्ने
३. पार्टीको नीति सफल बनाउन स्पष्ट लक्ष्य, प्रभावकारी योजना र सही दिशा तय गरी त्यसलाई कार्यान्वयनमा लैजान सक्ने
४. हरेक काममा अनावश्यक हस्तक्षेप नगर्ने, जिम्मेवारी पाएका सहकर्मीको क्षमता र निर्णयमाथि विश्वास गर्ने
५. व्यक्तिगत निकटता वा रुचिका आधारमा होइन, योग्यता, क्षमता र योगदानका आधारमा अवसर र जिम्मेवारी दिनेः पक्षपात नगर्ने
६. आलोचना र सुझावलाई सहज रूपमा ग्रहण गर्ने, गल्तीबाट सिक्ने र आवश्यक सुधार गर्दै अघि बढ्ने
७. पार्टी पंक्तिलाई उत्साहित र उत्प्रेरित गर्ने, प्रत्येक व्यक्तिको क्षमता पहिचान गरी परिणाममुखी काम गर्न अवसर र प्रेरणा दिने ।
२) काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डाैकाे वसन्तपुर डबलीमा पुगेर इन्द्रजात्राकाे अवलोकन गर्नुभएको छ ।
उहाँले आज इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्नुभएको हो ।
राष्ट्रपति पाैडेलकाे साथमा जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, मन्त्री मण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो ।
साथै विभिन्न देशका पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुग्नुभएको थियो ।
सांस्कृतिक एवम् ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध शालिकदेखि पैदल हिँडेर हनुमाढोका दरबार क्षेत्रमा रहेकाे गद्दी बैठकसम्म पुग्नुभएको थियो ।
३) सिङ्गापुरको वित्तीय क्षेत्रले सन् २०२८ सम्म ८० हजारभन्दा धेरै कर्मचारीलाई कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ सम्बन्धी सीपको तालिम दिने भएको छ । उपप्रधानमन्त्री गान किम योङले यसबारे जानकारी दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
‘आईबीएफ डिस्टिङ्सन इभनिङ’ कार्यक्रममा उपप्रधानमन्त्री योङले बैंकिङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रका २३ वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएका बताउनुभयो । ती संस्थाले भर्खरै शुरू भएको ‘इन्स्टिच्युट अफ बैंकिङ एन्ड फाइनान्स (आईबीएफ) एआई वर्कफोर्स को–ल्याब’ मार्फत आफ्ना कर्मचारीलाई तालिम दिनेछन् ।

आईबीएफबाट मान्यताप्राप्त कार्यक्रममार्फत आधाभन्दा धेरै कर्मचारीले यससम्बन्धी तालिम लिइसकेका छन् ।
‘एआई वर्कफोर्स को–ल्याब’ ले रोजगारदाता र साझेदार संस्थालाई एकै ठाउँमा ल्याएर कामको प्रकृतिमा भइरहेको परिवर्तनको मूल्याङ्कन गर्नेछ । साथै तालिम तथा कार्यप्रणालीमा आवश्यक परिवर्तनसम्बन्धी व्यावहारिक उपायको परीक्षण गरी त्यसबाट प्राप्त अनुभव वित्तीय क्षेत्रसँग साझा गर्ने खबरमा उल्लेख छ ।
उपप्रधानमन्त्री योङका अनुसार एआईले ग्राहक सेवा, वित्तीय परामर्श, ऋण स्वीकृति, ठगी पहिचान, बजार विश्लेषण र सफ्टवेयर विकासलगायत क्षेत्रमा वित्तीय संस्थाको कार्यशैलीमा परिवर्तन ल्याइसकेको छ ।
एआईको प्रयोगबाट सिङ्गापुरका नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्न चाहेको उहाँले बताउनुभयो । यसका लागि वित्तीय संस्थाको प्रतिबद्धता र सक्रियतासँगै सरकार तथा श्रमिक सङ्गठनको साझेदारी र सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।
४)
विराटनगर, असोज ९ — नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा विराटनगर–१ स्थित जेम्स इन्टरनेशनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थी तथा शिक्षकमार्फत आम नागरिकमा बीमासम्बन्धी सचेतना अभिवृद्धि गर्दै बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम को आयोजना गरिएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख राजेन्द्र मर्हजनले जानकारी दिनुभयो ।
कार्यक्रममा प्राधिकरणकी सहायक निर्देशक पुष्पा खनालले नेपालको वित्तीय प्रणाली, बीमाको परिचय, प्रकार, महत्व तथा बीमा क्षेत्रका चुनौतीका साथै नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य र अधिकारबारे प्रस्तुतीकरण गर्नुभयो । उहाँले विद्यार्थीमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै बीमासम्बन्धी जानकारी समुदायस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यार्थीका लागि प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। विद्यालयका प्रधानाध्यापक पंकज खड्काले आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा महत्वपूर्ण रहेको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैमा व्यावहारिक वित्तीय ज्ञान बढाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले बीमासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। महर्जनले जीवन, घर, कृषि तथा पशुपन्छी बीमाले विपद् तथा क्षतिबाट हुने आर्थिक जोखिम न्यूनीकरणमा सहयोग पु¥याउने बताउनुभयो ।कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणकी सहायक निर्देशक सविता झा ले गर्नुभएको थियो ।
उहाँले बीमा गर्दा बीमा लेखका नियम तथा सर्तहरू राम्ररी बुझ्न आग्रह गर्दै बीमा क्षेत्रमा दक्ष जनशक्तिको माग रहेकाले विद्यार्थीका लागि यो राम्रो करियर क्षेत्र बन्न सक्ने बताउनुभयो। उहाँले यस्ता चेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
५)
काठमाडौ -तिनाउ नदीमा बाढी आएको छ ।
बाढीको जोखिम बढेसँगै तिनाउ नदीको पुलमुनि बस्दै आएको सुमित्रा दमाईको १५ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त परिवारलाई बुटवलस्थित कान्ति स्कुलमा स्थानान्तरण गरिएको हो ।
बुटवलको नगर प्रहरीले सो परिवारलाई कान्ति माविमा स्थानान्तरण गरेको बुटवल–५ का वडाध्यक्ष हरि श्रेष्ठले बताए ।
६)
काठमाडौ – पृथ्वी राजमार्गअन्तर्गत कुरिनटार क्षेत्रमा त्रिशूली नदीले सडकको जग कटान गर्दा सडक भासिएको छ। नदीको निरन्तर कटानका कारण सडकमा ठूला चिरा परेपछि सवारीसाधनको आवागमन जोखिमपूर्ण बनेको छ।
राजमार्गको ७५ किलोमिटर ४०० मिटर दूरीमा रहेको उक्त सडकखण्डमा त्रिशूली नदीले सडकको आधारभूत भाग कटान गरेपछि सडकको ठूलो हिस्सा भासिएको हो।
केही समयअघि सामान्य ब्यारिकेड राखेर सवारीसाधन सञ्चालन गरिएको उक्त स्थानमा पछिल्लो समय नदीको कटान तीव्र बनेपछि सडकमा थप क्षति पुगेको छ। सुरुमा सामान्य समस्या देखिएको सडकमा अहिले ठूला चिरा परेका छन् भने सडकको स्वरूप नै परिवर्तन भएको छ।
सडक सुरक्षाका लागि राखिएका भौतिक अवरोधले समेत कटान रोक्न नसकेपछि सडकको जग कमजोर बनेको छ। कटान र सडक भासिने क्रम नरोकिए पृथ्वी राजमार्गको मुख्य यातायात प्रणाली नै अवरुद्ध हुन सक्ने जोखिम बढेको छ।
सम्बन्धित प्राविधिक टोलीले उक्त सडकखण्डको निरीक्षण गरिरहेको छ। स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयले जोखिमलाई ध्यानमा राख्दै उक्त स्थानमा सावधानीपूर्वक सवारीसाधन चलाउन चालकहरूलाई आग्रह गरेका छन्।
७)
काठमाडौ – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै जलवायु परिवर्तन, मानवीय संकट र विश्वव्यापी असन्तुलनका विषयलाई प्रभावकारी रूपमा उठाएको बताएकी छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले जलवायु विपत् र मानवीय संकटलाई विश्वमञ्चमा लाने प्रयास भएको बताएकी हुन् ।
धितालले जलवायु परिवर्तनले सीमा नचिन्ने र हिमनदी तथा बाढीले राहदानीमा छाप लगाएर यात्रा नगर्ने भन्दै प्रधानमन्त्रीले नेपालले भोगिरहेको जलवायु संकटको गम्भीरता विश्वसामु प्रस्तुत गरेको बताएकी छन्।
त्यस्तै, अन्तर्राष्ट्रिय मानवीय संस्था तथा विश्वभरका नागरिकले नेपाललाई गरेको सहयोगप्रति प्रधानमन्त्रीले कृतज्ञता व्यक्त गरेको पनि उनले उल्लेख गरेकी छन्।
धितालले प्रधानमन्त्रीको सम्बोधनमा युद्ध र खाद्यान्न आपूर्तिबीचको असन्तुलनलाई समेत उजागर गरिएको बताएकी छन्। उनका अनुसार प्रधानमन्त्रीले अन्तरमहादेशीय क्षेप्यास्त्र, राइफल र गोलाबारुद सीमा पार गर्न सक्षम भए पनि आवश्यक समयमा नेपाली किसानले बजार मूल्यमा मल वा इन्धनसमेत किन्न नसक्ने अवस्थाप्रति प्रश्न उठाएका छन्।
‘नेपालका लागि जलवायु विपद् मानवीय संकट मात्रै हुँदै होइन, खासमा विकासको आपत्काल पनि हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै धितालले लेखेकी छन्।
धितालले नेपालको जलवायु तथा मानवीय संकटको आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो दायित्व पूरा भएको बताउँदै अब त्यसलाई कार्यान्वयनतर्फ लैजान निरन्तर बैठक, छलफल र समन्वय आवश्यक रहेको उल्लेख गरेकी छन्।
‘यो चरण यस यात्राको श्रीगणेश हो, इतिश्री होइन,’ उनले भनेकी छन्, ‘हामीले आँटेको कदमलाई गन्तव्यसम्म पुर्याउन थप अनवरत बैठक, छलफल र समन्वयको आवश्यकता छ। यो आवाजलाई बिसाउन नदिने हठको आवश्यकता छ।
८)
काठमाडौ – सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दो छ। शुक्रबार दिउँसो १ बजेको मापन अनुसार पानीको बहाव दुई लाख २९ हजार ९६० प्रतिसेकेन्ड क्यूसेक पुगेको छ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये ३० वटा खुल्ला गरिएको छ।
आवश्यकता अनुसार पानीको बहाव अरू बढेमा भारतीय पक्षसँग समन्वय गरेर थप ढोका खुलिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।
कोशी ब्यारेजमा यति बेला खतराको संकेत रातो बत्ती समेत बालिएको छ। यहाँ पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति भने खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।
दुई लाख काट्ने बितिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।
कोशी ब्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिदा खतरा हुने गर्छ।
२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यति बेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानववस्तीमा पसेको थियो।
त्यति बेला सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काउँदा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए।
एक पटक पूर्वी तटबन्ध भत्काएर पुन पुरानै अवस्थामा फर्काए पनि कुनै पनि बेला विनाश लिला मच्चाउन सक्ने खतरा भने छ
९)
जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदको पुरुष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजयी शुरुआत गरेको छ ।
आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएकाे १०३ रनकाे लक्ष्य नेपालले १८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । नेपालका सन्दीप जोराले ३४, रोहित पौडेलले नटआउट ३३ रन बनाए । अफगानिस्तानका फरिदुन दाउदजई, अब्दुल्ला अहमदजाई र अरब गुलले १/१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनायो । अफगानिस्तानका फैसल खान अहमदजई र नजिबुल्लाह जाद्रानले समान ३० रन बनाए । नेपालका कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिए ।
प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो । अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई ४८ रनले हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा जापानसँग खेल्नेछ ।
समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र जापान रहेका छन् । समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलमा पुग्ने टोलीले भारत वा श्रीलङ्कामध्ये एक टोलीसँग खेल्नेछ ।
एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल र अफगानिस्तानबीच १२ वर्षपछि फेरि भेट भएको हो । सन् २०१४ मा दक्षिण कोरियाको इनचोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग ८ रनले पराजित भएको थियो ।
एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो । नेपाल अहिलेसम्म क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन
१०)
काठमाडौ -स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६२० रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
११)
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी विद्को विषय उठाउँदै यसलाई नेपालले भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताएका छन् ।
नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्दै उनले तर, नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चहने बताए ।
सम्बोधनको अन्त्यमा उनले विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् भन्ने कामना गरे ।
“भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्, यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्,” आफ्नो सम्बोधनको अन्त्यमा बालेनले भने।
