काठमाडौं, बैशाख १० – भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आइपुग्नुभएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल आउनुभएका मन्त्री खट्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा मन्त्रालयका उच्च अधिकारीहरू र काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधिहरूले स्वागत गरेका हुन्।
गएको माघमा भारत भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिनुभएको थियो।
मन्त्री खट्टरले सोमबार दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न ‘कोशी कोरिडोर २२० केभी प्रसारण लाइन’ अन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन र तीनवटा सबस्टेशनको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। उक्त कार्यक्रम सङ्खुवासभाको तुम्लिङटार सबस्टेशनमा हुनेछ।
त्यस अवसरमा उहाँले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको समेत अवलोकन गर्नुहुनेछ।
यसै भ्रमणका क्रममा नेपाल र भारतबीच संयुक्त रूपमा निर्माण गर्न लागिएको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ।
त्यस्तै, नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन इन्डियाबीच दुईवटा अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि समझदारीपत्रमा समेत हस्ताक्षर गरिने ऊर्जा मन्त्रालयले जनाएको छ।
