
- एमाले महासचिव शंकर पोखरेलले जेनजी युवाका मागहरू जायज रहेको बताएका छन्।
- भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्दाहरू सबैको साझा सरोकार रहेको उनको भनाइ छ।
- सरकारले सामाजिक सञ्जाल नियमनबारे स्पष्ट पार्न नसक्दा युवा सडकमा आएको उनले उल्लेख गरे।
काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी युवाका जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन्।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत गत वर्षको घटनालाई सम्झिँदै उनले यस्तो बताएका हुन्। जेनजी आन्दोलनका क्रममा युवाले उठाएका भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, सेवा प्रवाह सहज बनाउनुपर्ने र सामाजिक सञ्जालको निर्वाध प्रयोग गर्न पाउनुपर्ने माग जायज रहेको पोखरेलले बताएका छन्। यी माग सबैको साझा सरोकारका विषय भएको उनको भनाइ छ।
महासचिव पोखरेलका अनुसार सरकारले त्यतिबेला सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको, बरु नेपालमा दर्ता हुने व्यवस्था गर्दै नियमनलाई सहज बनाउन खोजेको जिकिर गरेका छन्। तर सरकारले यस विषयमा स्पष्ट पार्न नसक्दा सामाजिक सञ्जालमा अभ्यस्त नयाँ पुस्ता सडकमा आएको उनको भनाइ छ।
