
- मुगुको खत्याडमा माथिबाट खसेको ढुङ्गा लागेर ६३ वर्षीय बाँच गिरी गम्भीर घाइते भएका थिए।
- उपचारका लागि स्वास्थ्य केन्द्र लगिएका गिरीको उपचारकै क्रममा मृत्यु भएको छ।
- घटनाको थप अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ।
रतन बहादुर रावल, मुगु।मुगुको खत्याड गाउँपालिकामा माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार खत्याड गाउँपालिका वडा नम्बर ८ रिया बस्ने अन्दाजी ६३ वर्षीय बाँच गिरीको बिहीबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायक उपनिरीक्षक रविराज थपलियाले जानकारी दिनु भयो गाउँपालिकातर्फ जाने क्रममा खत्याड गाउँपालिका वडा नम्बर ११ सेरा भन्ने ठाउँमा माथिबाट एक्कासि ढुङ्गा खस्दा गिरीको टाउको र दाहिने हातमा गम्भीर चोट लागेको थियो।
घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रातापानी मुगुबाट प्रहरी हवल्दार गणेश प्रसाद चालिसेको कमाण्डमा ३ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले घाइते गिरीलाई उद्धार गरी मध्यान्ह १२:०० बजे आधारभूत स्वास्थ्य केन्द्र रातापानी मुगुमा उपचारका लागि ल्याएको थियो। तर, उपचारकै क्रममा दिउँसो १:१० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको समयमा मृतक गिरीका छोरा प्रेमलाल गिरी पनि साथमै रहेका थिए।
घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब २ किलोमिटर पूर्वमा पर्दछ। घटनाको थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी निरीक्षक पदम बहादुर खत्रीको कमाण्डमा सोको (SOCO) सहित ५ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। उक्त घटनास्थल जिल्ला प्रहरी कार्यालय मुगुबाट करिब ८ घण्टा पश्चिम दूरीमा रहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
