
- बाराकी बालिकाको हत्या प्रकरणमा सरकारसँग तीन बुँदे सहमति भएपछि आइतबार अन्तिम संस्कार गरिएको छ।
- आन्दोलनरत पक्षसँगको वार्तापछि कानुन मन्त्रालयले जघन्य अपराधसम्बन्धी कानुन पुनरावलोकन गर्न सात सदस्यीय समिति गठन गर्ने भएको छ।
- कलैयाको पसाहा खोलामा आयोजित बालिकाको अन्तिम संस्कारमा स्थानीय प्रशासनका उच्च अधिकारीहरू र परिवारका सदस्य सहभागी थिए।
काठमाडौं।सरकारसँग तीन बुँदे सहमति भएसँगै बलात्कारपछि हत्या गरिएकी बारा जीतपुरसिमरा-१ दसधुरेकी तीन वर्षीया बालिकाको आइतबार दिउँसो अन्तिम संस्कार गरिएको छ।

बालिकाका बुवा मनोजले कलैया उपमहानगरपालिका-१४ बघवनस्थित पसाहा खोलामा धार्मिक परम्पराअनुसार दागबत्ती दिएका हुन्।
काठमाडौंमा सहमति जुटेपछि बुवा मनोजले आइतबार कलैया अस्पतालबाट शव बुझेका थिए। गत मंगलबार रातिदेखि अस्पतालमा राखिएको बालिकाको शव यात्रा तथा अन्तिम संस्कारमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, नेपाली सेनाका प्रमुख सेनानी गिरीराज गौतम, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सरोज निरौला र इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टलगायत उच्च सुरक्षा अधिकारी तथा परिवारका सदस्य उपस्थित थिए।
शनिबार राति गृह मन्त्रालयमा भएको वार्तामा तीन बुँदे सहमति भएपछि परिवार शव बुझ्न तयार भएको हो। सहमतिअनुसार जघन्य आपराधिक घटनासम्बन्धी विद्यमान कानुनमा भएको कसुर र सजाय पुनरावलोकन गरी सुझाव दिन कानुन मन्त्रालयले ७ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी ७ सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्नेछ।
