
- बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ।
- बीपी र त्रिभुवन राजपथमा समय तथा सवारी साधनको प्रकार अनुसार आवागमनको व्यवस्था गरिएको छ।
- पासाङ ल्हामु, कर्णाली र पृथ्वी राजमार्ग लगायतका सडकहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध छन्।
काठमाडौं ।विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडकहरू प्रभावित भएका छन्।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार काभ्रे र सिन्धुली जोड्ने बीपी राजमार्गमा यातायात सञ्चालनका लागि समयसीमा तोकिएको छ। मकवानपुरतर्फ त्रिभुवन राजपथ र कान्ति राजमार्गमा सवारी साधनको प्रकार अनुसार आवागमनको व्यवस्था मिलाइएको छ।
नुवाकोटको टोखा-छहरे सडक खण्डमा वर्षाका कारण रातिको समयमा अत्यावश्यक बाहेकका सवारी साधनमा रोक लगाइएको छ भने रसुवा जाने मुख्य पासाङ ल्हामु सडक खण्ड त्रिशुली नदीको कटान र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।
यसैगरी, धादिङको पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर र चालिसेमा पहिरो तथा बाढीले सडक भासिएका कारण आवागमन पूर्ण तथा आंशिक रूपमा प्रभावित बनेको छ।
देशका अन्य दुर्गम क्षेत्रहरूमा पनि मौसमको प्रतिकूलताका कारण यातायात अवरुद्ध भएको छ। मुगुको नाग्म-गमगढी सडक खण्ड र रोल्पाको सहिद राजमार्गमा पहिरो खस्दा बाटो पूर्ण रूपमा बन्द भएको छ।
त्यसैगरी, ललितपुरको कान्तिलोकपथमा बाटो भासिएर एक लेन मात्र सुचारु रहेको छ भने कालिकोटको गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
