
- बैतडीको ढोल्यामोड–पुर्चौडी सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात पूर्ण रूपमा बन्द भएको छ।
- पहिरोका कारण सवारीसाधन र पैदल यात्रुलाई आवतजावतमा कठिनाइ भइरहेको छ।
- दुईवटा जेसिबी प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ भने यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
काठमाडौ – बैतडीको ढोल्यामोड–पुर्चौडी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । पुर्चौडी नगरपालिका–७ चिसापानी क्षेत्रमा आज दिउँसो करिब ३ बजेतिर सुख्खा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

अविरल वर्षापछि खसेको पहिरोका कारण सडकमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ भने पैदल यात्रुलाई समेत आवतजावत गर्न कठिनाइ भैरहेको स्थानीय अम्मरराज जोशीले बताउनुभयो ।
दुई ओटा जेसिबीले पहिरो हटाउने काम भइरहेको पुर्चौडी नगरपालिका-७ का अध्यक्ष धीरेन्द्र बमले जानकारी दिनुभयो । नगरपालिका र निर्माण व्यवसायीको जेसिबिले पहिरो सफा गर्ने कार्य भैरहेको उहाँले बताउनुभयो ।
“उक्त क्षेत्रमा ३/४ दिनदेखी सुख्खा पहिरो खसिरहेको छ ।आज बिहान मात्रै पहिरो हटाएका थियौं । फेरी अहिले पहिरो खसेको छ” उहाँले भन्नुभयो।
सडक अवरुद्ध भएकाले उक्त मार्ग प्रयोग गर्ने यात्रुलाई आवश्यक सावधानी अपनाउन र सम्बन्धित निकायको सूचनाको पालना गर्न आग्रह गरिएको छ।
