
- नेपाली भाषा र साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज स्वदेश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदै छ।
- वाल्मीकि रामायणलाई नेपाली जनबोलीमा अनुवाद गरी नेपाली भाषा र साहित्यलाई भावनात्मक एकतामा बाँध्ने ऐतिहासिक योगदान उहाँले दिनुभएको थियो।
- घाँसीको प्रेरणाबाट सिर्जनामा लाग्नुभएका आदिकविको साहित्यिक योगदान र राष्ट्रिय एकताप्रतिको भूमिका आज पनि उत्तिकै सान्दर्भिक र अनुकरणीय मानिन्छ।
काठमाडौ – नेपाली भाषा, साहित्य र राष्ट्रिय सांस्कृतिक चेतनाका आधारस्तम्भ आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज (सोमबार) देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष असार २९ गते मनाइने भानुजयन्तीका अवसरमा साहित्यिक, शैक्षिक तथा सांस्कृतिक संस्थाले प्रभातफेरी, रथारोहण, माल्यार्पण, कवि गोष्ठी, सम्मान तथा साहित्यिक कार्यक्रम आयोजना गरेका छन् ।

भानु प्रतिष्ठान, काठमाडौंले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट नगरपरिक्रमा, रथारोहण, प्रभातफेरी तथा आदिकविप्रति श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहित साहित्यकार, संस्कृतिकर्मी, शिक्षाविद् तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता रहने जनाइएको छ । यस्तै, नेपाली शिक्षा परिषद्को आयोजना तथा भानु माध्यमिक विद्यालयको सहआयोजनामा रानीपोखरीस्थित भानुभक्तको सालिकमा माल्यार्पण कार्यक्रम सम्पन्न हुँदै छ । परिषद्का अनुसार दिउँसो लेखनाथ साहित्य सदनमा आयोजित विशेष कार्यक्रममा साहित्यकार भुवनहरि सिग्देललाई सम्मान गरिनेछ ।
यस अवसरमा भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाले देशभर कविता वाचन, साहित्यिक अन्तरक्रिया, सांस्कृतिक प्रस्तुति तथा विचार गोष्ठी आयोजना गरेका छन् । भारतका दार्जिलिङ, सिक्किम, असम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय बसोबास गर्ने विभिन्न स्थानमा पनि भानुजयन्ती विशेष उत्साहका साथ मनाइँदै छ ।
आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा भएको थियो । संस्कृत भाषामा रचित वाल्मीकि रामायणलाई सरल, सहज र जनबोलीको नेपाली भाषामा भावानुवाद गरी प्रस्तुत गरेर उहाँले नेपाली भाषा र साहित्यमा ऐतिहासिक योगदान दिनुभएको छ । उहाँको रामायणले नेपाली समाजमा धार्मिक ग्रन्थ मात्र नभई भाषिक एकताको माध्यमका रूपमा पनि विशेष स्थान बनाएको छ । आज पनि देशका धेरै घरमा भानुभक्तद्वारा अनुदित रामायणको सस्वर पाठ गर्ने परम्परा जीवित छ ।
भानुभक्तलाई साहित्य सिर्जनाको प्रेरणा एक घाँसीले दिएको जीवनदर्शनबाट प्राप्त भएको जनविश्वास छ । ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भन्ने घाँसीको सन्देशबाट प्रेरित भएर उहाँले साहित्य सिर्जनामा लाग्नुभएको थियो । त्यसपछि उहाँले नेपाली भाषालाई जनसाधारणसम्म पुर्याउने उद्देश्यले सरल भाषामा विभिन्न कृति रचना गर्नुभएको थियो । भानुभक्तका प्रमुख कृतिमा रामायण, प्रश्नोत्तर, भक्तमाला र बधुशिक्षा लगायतका रचना पर्छन् । उहाँका बिखरिएका पाण्डुलिपि संकलन गरी पुस्तकका रूपमा प्रकाशन गर्ने श्रेय साहित्यकार मोतीराम भट्टलाई जान्छ । मोतीरामले नै पहिलो पटक भानुभक्तलाई ‘आदिकवि’को उपाधि दिनुभएको थियो, जसपछि उहाँ नेपाली साहित्यमा व्यापक रूपमा परिचित बन्नुभयो ।
इतिहासकार तथा साहित्यकारका अनुसार पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रूपमा एकीकरण गर्नुभयो भने भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत नेपाली समाजलाई भावनात्मक रूपमा एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । सरल, मिठासपूर्ण र जनबोलीमा आधारित उहाँका कृतिले नेपाली समाजमा पठनपाठन, नैतिक शिक्षा, धार्मिक चेतना तथा सांस्कृतिक विकासमा गहिरो प्रभाव पारेको मानिन्छ ।
भानुभक्तको जीवनसँग जोडिएको अर्को महत्त्वपूर्ण प्रसंग कुमारीचोकको सरकारी हिसाब नमिलेपछि जेल परेका बेला रचिएका कवितासँग सम्बन्धित छ । सरकारी ढिलासुस्ती र ‘भोलिवाद’को उहाँले कडा आलोचना गर्नुभएको थियो । उहाँको प्रसिद्ध पंक्ति– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो, बक्सियोस् आज झोली’– आज पनि समयमै काम सम्पन्न गर्नुपर्ने सन्देशका रूपमा उद्धृत गरिन्छ ।
आदिकवि भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । तर, उहाँको साहित्यिक योगदान नेपाली भाषा, संस्कृति र राष्ट्रिय पहिचानको अभिन्न आधारका रूपमा आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ ।
भानुजयन्तीका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताले शुभकामना सन्देश जारी गर्दै आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय एकताको प्रवर्द्धनमा पुर्याएको योगदानको स्मरण गरेका छन् । उनीहरूले भानुभक्तका आदर्श, सिर्जना र सांस्कृतिक चेतनाले भावी पुस्तालाई पनि प्रेरित गरिरहने विश्वास व्यक्त गरेका छन्
