काठमाडौँ, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्ने भएको छ। यसका लागि दिउँसो वनेस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्दैछ।

बैठक दिउँसो १:३० बजे (केही स्रोतअनुसार १:०० बजे) सुरु हुने कार्यक्रम रहेको नेपाल खोजखबर लाई जानकारी प्राप्त भएको छ । बैठकमा रुपन्देही–३ उपनिर्वाचनमा खडा हुने उम्मेदवार छनोटसँगै प्रवास विशेष अभियान सञ्चालन, पार्टी प्रवेश कार्यक्रम र अन्य विविध विषयमा समेत छलफल हुने बताइएको छ।
रुपन्देही–३ उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने निश्चित भएको छ। त्यसैअनुरूप पार्टीले आजकै बैठकबाट उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको हो।
यसअघि पार्टीका ९ जना आकांक्षी– पार्थिवेन्द्र उपाध्याय, उमा अधिकारी, सुलभ खरेल, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता (जेबी), कुसुम महर्जन, रचना क्षेत्री र मधु अर्यालले उम्मेदवारी दाबी पेश गरिसकेका छन्।
आज बिहान ती आकांक्षी उम्मेदवारहरूले नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेटेर परामर्श समेत गरेका छन्। सभापतिलाई भेटेपछि सचिवालय बैठक बस्दैछ र बैठकले अन्तिम उम्मेदवारको नाम टुंग्याउने बुझिएको छ।
रुपन्देही–३ मा हुने उपनिर्वाचनलाई महत्वपूर्ण मानिएको छ। यस क्षेत्रमा प्रमुख दलहरूले आ–आफ्ना उम्मेदवार चयन गर्ने तयारी तिब्र पारेका छन् भने रास्वपा पनि प्रतिस्पर्धी उम्मेदवार उतार्ने घोषणा गर्ने चरणमा पुगेको छ।
