
- धादिङको नीलकण्ठ नगरपालिकामा अविरल वर्षाका कारण पहिरो जाँदा ६ परिवारको घरमा क्षति पुगेको छ।
- स्थानीय जनप्रतिनिधि र विपद् व्यवस्थापन टोलीले घटनास्थल पुगेर क्षतिको विवरण संकलन गर्दै राहतको काम सुरु गरेका छन्।
- मनसुन सक्रिय रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरिएको छ।
काठमाडौ – धादिङको नीलकण्ठ नगरपालिका–४ जयन्तीडाँडामा पहिरो खस्दा ६ परिवारका घरमा क्षति पुगेको छ।

शनिबार राति परेको अविरल वर्षापछि घरमाथिबाट माटो र ढुंगा खस्दा ६ परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
पहिरोबाट राधिका खाँण, कृष्ण खाँण, कन्यावती तामाङ, मिनकुमार तामाङ, शर्मिला तामाङ र मिना कुमारी तामाङको घरमा क्षति पुगेको प्रहरीले जनाएको हो ।
घटनापछि वडा कार्यालयका जनप्रतिनिधि तथा नीलकण्ठ नगरपालिकाको विपद् व्यवस्थापन टोली प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेको छ।
क्षतिको विवरण संकलन तथा आवश्यक राहत र व्यवस्थापनको प्रक्रिया अघि बढाइएको जनाइएको हो ।
मनसुन सक्रिय रहेकाले पहिरोको जोखिम अझै कायम रहेको भन्दै स्थानीय तहले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
