भिजेका सामान निकाल्दै सकुम्बासीले भने- हामी कुकुर-बिरालो होइनौं सरकार

समाचार सारांश
Auto Generated by AI
  • कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्दा आश्रित सुकुम्बासीहरूको बिचल्ली भएको छ।
  • सरकारी आश्वासनमा त्यहाँ पुगेका सुकुम्बासीहरूका लत्ताकपडा र खाद्यान्न बाढीले नष्ट गरिदिएको छ।
  • स्थायी व्यवस्थापन नभएको र अमानवीय व्यवहार गरिएको भन्दै पीडितहरूले सरकारप्रति आक्रोश पोखेका छन्।

काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारको बिचल्ली भएको छ।

Workplace

पन्ध्र दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी आश्वासन पाएर तीन महिनादेखि त्यहाँ बसिरहेका सुकुम्बासीहरू मध्यरातमा बाढी पसेपछि ज्यान जोगाउन मध्यरातमा भागदौड गर्न बाध्य भएका हुन्।

बाढीले भिजेका आफ्ना लत्ताकपडा र भाँडाकुँडा हिलोबाट निकाल्दै गरेका एक सुकुम्बासी वीरबहादुर चेपाङले सरकारले आफूहरूमाथि अमानवीय व्यवहार गरेको गुनासो गरे।

‘हामीलाई पनि बाँच्ने अधिकार छ, हामी कुकुर–बिरालो होइनौं’, उनले भने, ‘हामीले कसैको जग्गा मिचेर बसेका थिएनौं, सुरक्षित ठाउँ दिन्छु भनेर सरकारले बाढीको मुखमै ल्याएर फाल्यो।’

शुक्रबार राति करिब १२:४० बजेदेखि होल्डिङ सेन्टरमा बागमती नदीको बाढी पस्न थालेको थियो। सुतिरहेको अवस्थामा एक्कासि बाढी पसेपछि बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू सबैभन्दा बढी जोखिममा परेका छन्। त्यहाँ मुटु, मिर्गौला, दम र निमोनियाका बिरामीहरूसमेत रहेकाले चिसो र ओसिलो वातावरणले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पुगेको छ।

बाढीका कारण सुकुम्बासीका अन्नपात, लत्ताकपडा र दैनिक प्रयोगका सबै सामग्री भिजेर नष्ट भएका छन्। आफ्ना नातिनातिनालाई भोकै काखमा च्यापेर बसिरहेकी मैयामाया दनुवारले आँसु झार्दै भनिन्, ‘ज्यान त बल्लबल्ल बचायौं, तर सबै सामान हिलोले पुरियो। राति ३ बजेसम्म कोही उद्धार गर्न आएनन्, अहिले बच्चाहरूलाई खुवाउने एक गेडो चामल र लगाउने चप्पलसम्म छैन।’

बाढीबाट जोगाउने भन्दै सरकारले उनीहरूको बस्ती भत्काएर यस अस्थायी शिविरमा ल्याएको थियो। तर, सामान्य वर्षामा पनि डुबान हुने ठाउँमा आफूहरूलाई जानाजान अलपत्र पारिएको उनीहरूको आरोप छ। बाहिर निस्कन खोज्दा सुरक्षाकर्मीले रोक्ने र आफन्तसँग समेत भेट्न नदिएर सरकारले बन्दीजस्तो बनाएको उनीहरूको गुनासो छ।

हिलो पन्छाउँदै गरेका अर्का युवा रामकुमार परियारले सरकारको नियतमै खोट रहेको आरोप लगाए। ‘बालेन (प्रधानमन्त्री) ले हामीलाई बाढीबाट जोगाउन यहाँ ल्याएको भन्नुभएको थियो, तर उहाँले नै हामीलाई बाढीमै पुर्‍याउनुभयो’, उनी भन्छन्, ‘पानी पसेपछि यिनीहरू आफैँ भाग्छन् भनेर नै जानाजान यो डुबान हुने ठाउँमा ल्याएर राखेको जस्तो लाग्छ।’

तीन महिना बितिसक्दा पनि स्थायी व्यवस्थापन नहुँदा सुकुम्बासीहरू रुष्ट छन्। यसैबीच, व्यवस्थापनमा खटिएका एक सरकारी प्रतिनिधिले प्राविधिक कमजोरी स्वीकार गर्दै तत्कालका लागि खाना, सुत्ने डसना र स्वास्थ्य सेवाको प्रबन्ध भइरहेको दाबी गरे। यद्यपि, वर्षायाममा उचित बासस्थान र क्षतिपूर्तिको सुनिश्चितता नभए अवस्था थप जटिल बन्ने देखिन्छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?