काठमाडौँ — राजसंस्थावादी आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका बेला आफैं प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। पारिवारिक स्रोतका अनुसार, नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेकै अवस्थामा उनले आत्मसमर्पण गरेका हुन्।

प्रसाईंलाई पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बुझिएको छ।
गत चैत १५ गतेको राजसंस्थावादीहरूको आन्दोलनपछि उनी सार्वजनिक रूपमा देखिएका थिएनन्। त्यसयता उनले पटक–पटक सामाजिक सञ्जालमार्फत भिडियो सन्देशहरू सार्वजनिक गर्दै आफ्नो ज्यानमाथि खतरा रहेको दाबी गरेका थिए।
प्रसाईंले बुधबार मात्र एक भिडियो सन्देश जारी गर्दै मानवअधिकारवादी, कानून व्यवसायी तथा पत्रकारहरूको रोहवरमा २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका थिए ।
