काठमाडौ – नेपाली कांग्रेसका सभापति गगन थापाले एक चुनावमा पराजय हुँदैमा निराश भएर बस्न नहुने बताएका छन्। उनले हारलाई राजनीतिक यात्राको सामान्य चरणका रूपमा लिनुपर्ने भन्दै आगामी निर्वाचनमा कांग्रेसले पुनः कमब्याक गर्ने दाबी गरे।

आज आयोजित एक कार्यक्रममा बोल्दै थापाले चुनाव हार्दैमा पार्टी समाप्त नहुने स्पष्ट पारे। आफूलाई भेट्ने धेरै मानिसले “बर्बाद भयो, सकियो” भन्दै अनावश्यक चिन्ता व्यक्त गर्ने गरेको गुनासो पनि उनले गरे।
थापाले आफ्नो तौल घट्नु चुनावी हारका कारण नभई स्वास्थ्य समस्याका कारण भएको बताए। उनले केही महिनाको कडा मेहनतपछि १०–१२ किलो तौल घटाएको उल्लेख गर्दै त्यसलाई पनि धेरैले राजनीतिक निराशासँग जोडेको सुनाए।
उनले भने, “चुनाव हार्यौं, अब गर्ने के त ? एउटा उपाय छ, चिन्ता गर्ने। तर चिन्ता नकारात्मक कुरा हो। चिन्ताले समाधान दिँदैन, रुवाबासीले कतै पुर्याउँदैन।”
उनले थपे, “६–८ महिना मेहनत गरेर, स्वास्थ्य कारणले १०–१२ किलो तौल घटाएँ। चिटिक्क परेर गएँ भन्ने लागेको थियो, जसले भेटे पनि गाला समातेर ‘बर्बाद भयो, दुब्लायो, सकियो’ भन्छन्।”
थापाले हारलाई अन्तिम निष्कर्षका रूपमा नलिन आग्रह गर्दै राजनीति उतारचढावको यात्रा भएको बताए।
उनले भने, “एउटा चुनाव आयो, हारियो, सकियो भन्ने हुँदैन। अघि बढियो। सधैं जितिन्छ भन्ने छैन। यसअघि जितियो, अहिले हारियो, अर्को चुनावमा फेरि जितिन्छ।”
नेपाली कांग्रेसको नेतृत्व सम्हालिरहेका थापाले आफूलाई पार्टीलाई अगाडि बढाउन नसकिएला कि भन्ने मात्रै चिन्ता रहेको बताए। उनले पार्टीका कार्यकर्ता र समर्थकले निराशा फैलाउनुको सट्टा नेतृत्वलाई हौसला दिनुपर्ने धारणा व्यक्त गरे।
थापाले नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको विरासत सम्झँदै आफू त्यसै परम्पराको उत्तराधिकारी भएको बताए।
