रतन रावल कर्णाली — मुगुका समाजसेवी तथा अक्कल कोपिला फाउन्डेसनका संस्थापक अक्कल बोहराको ४८औँ जन्मोत्सवको अवसर पारेर फुटबल प्रतियोगिता आयोजना गरिएको छ। छायाँनाथ रारा नगरपालिका वडा नम्बर ११ को रुवा गाउँ र वडा नम्बर १३ को रुगा गाउँका खेलाडी टिमहरूलाई लक्षित गर्दै प्रतियोगिता सञ्चालन गरिएको हो।

नववर्षको अवसरसँगै वैशाख १ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल वैशाख ४ गते हुने आयोजकले जनाएको छ। बोहरा वैशाख ४ गतेबाट ४८ वर्षमा प्रवेश गर्ने भएका छन्। हरेक वर्ष आफ्नो जन्मोत्सवको अवसरमा मुगु जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएका बोहराले यस वर्ष युवाहरूलाई खेलकुदतर्फ प्रेरित गर्ने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरेको बताएका छन्। विशेषगरी वडा नम्बर १०, ११, १२ र १३ का खेलाडीहरूलाई लक्षित गर्दै प्रतियोगिता सञ्चालन गरिएको हो।
मुगु जिल्ला खेलकुदको क्षेत्रमा पछाडि परेको र आफूले पनि विगतमा विभिन्न कठिनाइ भोगेको अनुभवका आधारमा युवाहरूलाई खेलकुदमार्फत अगाडि बढाउन यस्तो पहल गरिएको बोहराले उल्लेख गरेका छन्। उनले मुगुका युवाहरूलाई खेलकुदमार्फत जिल्लाको पहिचान स्थापित गर्न प्रेरित गर्ने लक्ष्य लिएको पनि बताएका छन्।
प्रतियोगितामा टिम दर्ता शुल्क १५०० रुपैयाँ तोकिएको छ भने हालसम्म १५ वटा टिमले सहभागिता जनाइसकेका छन्। प्रतियोगितामा तृतीय स्थानसम्मका टिमलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक टिमले जानकारी दिएको छ।

