
- सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको २ माघको संशोधित निर्णय झिकाउन आदेश दिएको छ।
- अदालतले रविको मुद्दा हेर्न नमिल्ने बाहेकका अन्य न्यायाधीशहरूको इजलासमा पेस गर्न निर्देशन दिएको छ।
- यस आदेशका कारण रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ प्रक्रिया केही दिन लम्बिने देखिएको छ।
काठमाडौं – सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ ।

न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले गत २ माघको निर्णय पनि पेश गर्न आदेश दिएको हो ।
गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् । तर, दुई दिनपछि २ माघमा भने लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।
यद्यपि, सर्वोच्चमा ३० पुसको मात्रै निर्णय पेश भएको भेटियो । त्यसपछि न्यायाधीशद्वयले २ माघमा भएको निर्णय झिकाएर पेश गर्न आदेश दिएको हो ।
सर्वोच्चको आदेश अनुसार, अब यो इजलासले रविको मुद्दा नहेर्न पनि सक्छ ।इजलासले रविको मुद्दा हेर्न नमिल्ने न्यायाधीशबाहेक अरु न्यायाधीश भएको इजलासमा मुद्दा पेश गर्नु भनी आदेश गरेको हो ।
सर्वोच्चको यो आदेशले रविसम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने देखिएको छ ।
