काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा प्रदेशसभा सदस्यसमेत रहेका बानियाँले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई पराजित गर्दै जित निकालेका हुन्।

३७ सदस्यीय दलमा बानियाँले २२ मत प्राप्त गरे भने लामाले १४ मत पाए। एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ। बदर भएको मतमा सांसदले स्वस्तिक छाप लगाउनु पर्नेमा नाम नै लेखेपछि विवाद भएको थियो।
नेपाल खोजखबर लाई प्राप्त जानकारी दिएअनुसार बानियाँ संसदीय दल नेतामा विजयी भएका बानिया निकट एक नेताले भने।
यसअघि २०७९ सालको मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि १३ पुसमा पहिलो पटक दल नेताको निर्वाचन भएको थियो। त्यसबेला पनि बानियाँ र लामा प्रतिस्पर्धामा उत्रिएका थिए। दुबै जना निर्माण व्यवसायी पृष्ठभूमिका नेताहरू हुन् र सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।
तर अघिल्लो पटक सभापति देउवाको समर्थन नपाएपछि बानियाँले नेता शेखर कोइराला र महामन्त्री गगन थापाको पक्ष लिँदै चुनाव लडेका थिए। सो चुनावमा बानियाँले १६ मत मात्रै पाएका थिए भने लामाले २१ मत ल्याउँदै दल नेता बनेका थिए।
साढे दुई वर्षको अन्तरालमा बानियाँले समर्थन बढाउँदै पुनः उम्मेदवारी दिए र मतपलट गर्दै जित हात पारेका हुन्। यससँगै बानियाँले बागमती कांग्रेस संसदीय दलको नेतृत्व सम्हाल्ने भएका छन्।
