भारत अहमदाबाद — आईसीसी टी–२० विश्वकप २०२६ को फाइनलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै हिजो भएको खेलमा ऐतिहासिक उपाधि जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनल खेलमा भारतले उत्कृष्ट ब्याटिङ र घातक बलिङको प्रदर्शन गर्दै न्युजिल्यान्डलाई सहजै पराजित गरेको हो।

टस जितेर न्युजिल्यान्डले पहिले फिल्डिङ रोजेपछि भारतले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल स्कोर बनाएको थियो। भारतका लागि सञ्जु सामसनले आक्रामक ब्याटिङ गर्दै ४६ बलमा ८९ रनको उत्कृष्ट पारी खेले। त्यस्तै अभिषेक शर्मा र इशान किशनले पनि महत्वपूर्ण अर्धशतक प्रहार गर्दै भारतलाई बलियो अवस्थामा पुर्याएका थिए।
२५६ रनको कठिन लक्ष्य पछ्याउँदै मैदान उत्रिएको न्युजिल्यान्ड सुरुदेखि नै दबाबमा देखियो। भारतीय बलरहरूले अनुशासित र प्रभावकारी बलिङ गरेपछि न्युजिल्यान्डका ब्याट्सम्यानहरू लामो समय क्रिजमा टिक्न सकेनन्। भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले घातक बलिङ गर्दै ४ विकेट लिए भने अक्षर पटेलले ३ विकेट झारेपछि न्युजिल्यान्डको पूरा टोली १९ ओभरमा १५९ रनमै समेटियो।
यस जितसँगै भारतले टी–२० विश्वकप इतिहासमा आफ्नो तेस्रो उपाधि जित्दै नयाँ कीर्तिमान कायम गरेको छ। यस जितले विश्व क्रिकेटमा भारतको वर्चस्व अझ बलियो भएको विश्लेषण गरिएको छ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका जसप्रित बुमराह ‘प्लेयर अफ द म्याच’ घोषित भए भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सञ्जु सामसनलाई ‘प्लेयर अफ द टुर्नामेन्ट’ प्रदान गरिएको छ ।
भारतका कप्तान सूर्यकुमार यादवले जितपछि प्रतिक्रिया दिँदै टोलीको सामूहिक मेहनत र रणनीतिका कारण यस्तो सफलता सम्भव भएको बताएका छन्। उता न्युजिल्यान्डका कप्तान मिचेल स्यान्टनरले भारतीय टोलीले सुरुदेखि नै दबाब सिर्जना गरेको स्वीकार गर्दै आफ्नो टोलीले त्यसलाई सामना गर्न नसकेको बताएका थिए।
