काठमाडौं, सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच पछिल्लो दुई दिनमा दोस्रो पटक भेटवार्ता भएको छ।

आइतबार भएको पहिलो भेटपछि सोमबार पुनः उनीहरूबीच छलफल भएको हो। यसपटकको भेट काठमाडौंमा रास्वपाका पूर्वसांसद असिम शाहको निवासमा भएको बताइएको छ। स्रोतका अनुसार भेटवार्ता तीन घन्टाभन्दा बढी समय चलेको थियो।
भेटमा आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई केन्द्रमा राखेर सहकार्यका सम्भावित मोडालिटीबारे छलफल भएको बताइएको छ। बालेन निकट स्रोतका अनुसार रवि लामिछानेले बालेन शाहलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी चुनावी सहकार्य गर्ने प्रस्ताव अघि सारेका थिए।
त्यस प्रस्तावअनुसार बालेन शाह संलग्न रहेको भनिएको ‘देश विकास पार्टी’ र रास्वपाबीच एकीकरण गरी एउटै पार्टी बनाएर चुनावमा जाने विकल्पमाथि पनि छलफल भएको दाबी गरिएको छ। एकीकृत पार्टीको नाम भने रास्वपा नै राख्ने प्रस्ताव गरिएको स्रोतको भनाइ छ।
यद्यपि रास्वपा स्रोतले भने बालेनसँग सहकार्यको विषयमा छलफल भए पनि पार्टी एकीकरण वा प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने तहसम्म विस्तृत कुराकानी नभएको स्पष्ट पारेको छ।
यसैबीच रास्वपाका नेता तथा पूर्वसांसद शिशिर खनालले सार्वजनिक रूपमा मेयर बालेन शाहलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सार्न सकिने बताएका छन्। कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रममा उनले पार्टीभित्र वैकल्पिक नेतृत्वका रूपमा बालेन शाहलाई पनि हेरिएको स्वीकार गरेका थिए ।
रास्वपाका प्रवक्ता मनीष झाले पनि बालेन शाहसँग आपसी सहकार्यका विषयमा संवाद भइरहेको जानकारी दिएका छन्।
भेटवार्तामा रास्वपातर्फबाट रवि लामिछाने, डोलप्रसाद अर्याल र असिम शाह सहभागी थिए भने बालेन पक्षबाट कुमार बेन, निश्चल बस्नेतलगायत सदस्यहरूको उपस्थिति रहेको थियो।
लामिछाने पुस ४ गते रूपन्देही जिल्ला अदालतमा ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका थिए। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सशर्त रिहा गर्न आदेश दिएको थियो।
थुनामुक्त भएसँगै लामिछानेले राजनीतिक भेटघाट तीव्र बनाएका छन्। काठमाडौं फर्किएपछि उनले जेन–जी आन्दोलनका घाइते र सहिद परिवारसँग भेट गर्नुका साथै प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेटवार्ता गरेका थिए।
राजनीतिमा बालेन–रवि भेटलाई आगामी निर्वाचनमा नयाँ राजनीतिक ध्रुवीकरणको संकेतका रूपमा हेर्न सकिन्छ ।
