काठमाडौं । दशैं नजिकिँदै गर्दा चीनबाट नेपाल भित्रिने कन्टेनर कम भएकाले व्यापारीहरू मारमा परेका छन् ।

करिब दुई महिनादेखि पहिरोका कारण अवरुद्ध तातोपानी नाका बल्लतल्ल खुलेको भए पनि चिनियाँ पक्षले पर्याप्त कन्टेनर नछाड्दा दशैंलक्षित सामान ल्याउन समस्या भएको व्यवसायीहरूले गुनासो गरेका छन् ।
गोल्डस्टारका सप्लाई हेड संजीव कर्णका अनुसार दशैंका लागि ल्याउन लागिएको ५० करोड रुपैयाँ बराबरको कच्चा पदार्थ चीनमै रोकिँदा कारखाना ३० दिनदेखि बन्द छ । कर्णले ल्याएको १७ वटा कन्टेनरमध्ये हालसम्म दुईवटा मात्र नेपाल भित्रिएको बताए ।
‘दशैं त बिग्रियो बिग्रियो, अब तिहारसम्ममा केही सामान भित्र्याएर काम गर्न सकिन्छ कि भन्ने आशा छ,’ कर्णले भने, ‘तर सरकारले कुनै पहल गरेको देखिँदैन ।’
तातोपानी नाकामा संरचनागत तयारी भए पनि समन्वय अभावले समस्या भएको उनको भनाइ छ । रेडिमेड कपडा, जुत्ता लगायत लत्ता–कपडा चीनमै रोकिँदा व्यापारीलाई ठूलो नोक्सानी भएको उनको गुनासो छ ।
ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरुद्र थापाले अन्य दिनको तुलनामा अहिले कन्टेनरको संख्या निकै कम भएको बताए । ‘सामान्य अवस्थामा दैनिक ४० वटा कन्टेनर आउँथे, अहिले मुस्किलले ७–८ मात्र आएका छन्,’ उनले भने ।
तातोपानी भन्सार सिन्धुपाल्चोकका सूचना अधिकारी रमेश शाहले पनि बिहीबार चीनबाट अपेक्षाकृत कम कन्टेनर आएको पुष्टि गरेका छन् । उनका अनुसार चिनियाँ पक्षले खासामा भइरहेको सडक निर्माण र ट्राफिक व्यवस्थापनलाई कारण देखाउँदै कन्टेनर छाड्न ढिलाइ गरेको छ ।
‘हामीले चीनतर्फ गएर आग्रह गरेका छौं, दशैं अगाडि सामान नआए व्यवसायीहरू डुब्छन् भनेका छौं,’ शाहले बताए, ‘सायद शनिबारदेखि कन्टेनर बढ्न सक्छ ।’
