काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयमा विना झन्झट सेवाप्रवाह हुने सुनिश्चितता दिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

बिहीबार राष्ट्रका नाममा गरिएको सम्बोधनमा प्रधानमन्त्री कार्कीले सेवाग्राहीले पाउने सेवामा कुनै ढिलासुस्ती वा अनावश्यक झन्झट हुने अवस्था सह्य नहुने स्पष्ट पारिन् ।
उनले भनिन्, “भ्रष्टाचार न्यूनीकरण, विधिको शासनको प्रत्याभूति र सामाजिक न्यायको सुनिश्चितताका लागि वर्तमान सरकारले दृढताका साथ काम गर्नेछ ।”
प्रधानमन्त्री कार्कीले सेवाप्रवाहमा हुने ढिलासुस्ती, मोलमोलाइ, काम पन्छाउने, घुस माग्ने वा सेवाग्राहीलाई अपमानजनक व्यवहार गर्ने जस्ता गतिविधि भए तत्काल उजुरी दिन सकिने व्यवस्था मिलाइएको बताइन् ।
यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्बन्धित मन्त्रालय, प्रदेश तथा स्थानीय तहका निकायमा छुट्टै हटलाइन सञ्चालन गरिने उनले जानकारी दिइन् ।
