नारायण प्रसाद गैरे

अर्घाखाँची, — भुमिकास्थान नगरपालिका–९, डेभामा अवस्थित भगवती माध्यमिक विद्यालयमा बिहीबार बेलुकी आएको भीषण हावाहुरीले ठूलो क्षति पुर्याएको छ। विद्यालयको टिनको छाना उडाउँदा भवनभित्र पानी पसि पठनपाठनमा अवरोध सिर्जना भएको छ।
उक्त हावाहुरीका कारण विद्यालय नजिकै रहेको विद्युत् लाइनको तार समेत चुडिएको छ, जसका कारण स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ।
प्रकोपबाट विद्यालय मात्र नभई स्थानीय बासिन्दा रुद्रवीर थापाको घरको छाना समेत उडाएर ठूलो क्षति पुर्याएको छ। विद्यालय प्रशासनले क्षतिको विवरण संकलन गरी स्थानीय तह तथा सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ।
स्थानीय बासिन्दाहरूले चाँडो मर्मत कार्य अघि बढाई विद्युत् सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
