
- राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेकी छन्।
- प्रधानमन्त्रीको अभिव्यक्ति र प्रशासनिक निर्णयहरू अपरिपक्व भएको भन्दै उनले सरकारको कडा आलोचना गरेकी छन्।
- उनले धार्मिक सहिष्णुता कायम गर्न संवैधानिक राजसंस्थासहितको हिन्दु राष्ट्रको अवधारणाबारे गम्भीर बहस आवश्यक रहेको बताएकी छन्।
काठमाडौ -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले मुलुकमा धार्मिक असहिष्णुता र साम्प्रदायिक तनाव बढ्दै गएको भन्दै सरकारको आलोचना गरेकी छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले सुनसरीमा भएको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरिन् ।
सांसद ओलीले सुनसरीको घटनालाई सत्तारुढ दलहरूले दुःखद् र संवेदनशील भने पनि घटनाको प्रकृति र पृष्ठभूमिका बारेमा मौन बसेको आरोप लगाइन् ।
बोलबम धार्मिक यात्राका क्रममा हिन्दु धर्मावलम्बीहरूमाथि गोली प्रहार भएको, ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ घाइते भएको तथ्यलाई सरकारले स्पष्ट रूपमा स्वीकार गर्न डराएको उनको भनाइ छ ।
प्रधानमन्त्रीले अनुसन्धान हुनुपूर्व नै सामाजिक सञ्जालमार्फत गोली चलेको विषयमा दिएको अभिव्यक्ति अपरिपक्व भएको उनले टिप्पणी गरिन् । उनले मोरङ जिल्ला प्रशासन कार्यालयले धार्मिक अनुष्ठानका क्रममा ध्वनि नियन्त्रणका लागि जारी गरेको सूचनाप्रति पनि आपत्ति जनाइन् । एउटा निश्चित धर्म र पुराणलाई मात्र लक्षित गरेर ल्याइएको यस्ता सूचनाले समाजमा इगो (अहंकार) पैदा गर्ने र यसले प्रशासनिक अपरिपक्वता झल्काउने उनको तर्क छ ।
उनले भनिन्, ‘बोलबम यात्रा नेपालको धार्मिक तथा सांस्कृतिक परम्पराको अभिन्न हिस्सा हो । गोली कसले र कसको आदेशमा चलायो ? जिल्ला प्रशासन, प्रहरी र प्रधानमन्त्रीको अभिव्यक्तिमा किन विरोधाभास छ ? यो गम्भीर विषय हो । संवैधानिक राजसंस्थासहितको हिन्दु राष्ट्र रहँदा नेपाल आजको तुलनामा बढी सहिष्णु र सन्तुलित थियो । यो तथ्यलाई भावनाले मात्र होइन, गम्भीर बहस र प्रमाणका आधारमा समीक्षा गरिनुपर्छ ।’
