काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेतृ तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विधान महाधिवेशनका प्रतिनिधिहरूलाई खुला पत्र लेख्दै आफ्नो सदस्यता विवादलाई गम्भीर मुद्दा बताउँदै न्याय, विधि र लोकतान्त्रिक संस्कारका पक्षमा उभिन आग्रह गरेकी छिन् । उनले २०८२ साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटीको निर्णयमार्फत नवीकृत भइसकेको आफ्नो सदस्यतामाथि प्रश्न उठाइएकाले पत्र लेख्न बाध्य भएको स्पष्ट गरेकी छिन् । भण्डारीले पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरूमा आफू सक्रिय रहे पनि त्यसबखत सदस्यताको सवालमा कुनै प्रश्न नउठाइएकाले अहिले आएको विवाद पार्टी र राष्ट्रकै लागि गम्भीर भएको टिप्पणी गरेकी छिन् ।

उनले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका लागि अर्पण गरेको स्मरण गर्दै महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि निरन्तर आवाज उठाइरहेको उल्लेख गरेकी छन् । भण्डारीले सदस्यतामाथि उठाइएका प्रश्नलाई व्यक्तिगत मुद्दा नभई पार्टीको उज्ज्वल भविष्यसँग जोडिएको ठहर गर्दै प्रतिनिधिहरूले यसलाई अधिकार र पार्टी एकताको सवालका रूपमा बुझ्ने विश्वास व्यक्त गरेकी छिन् । उनले २०३७ सालमा प्राप्त गरेको सदस्यता आफ्नो गहिरो आस्था र विश्वासको प्रतीक रहेको बताउँदै राष्ट्रपतिबाट जिम्मेवारी पूरा गरेर फर्किएपछि पनि पार्टीमा योगदान गर्न चाहँदा सदस्यता रोक्ने प्रयास दुःखद भएको उल्लेख गरेकी छन् ।
भण्डारीले २०८२ असार १४ गते मदन भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा सार्वजनिक रुपमा सदस्यता नवीकरण भइसकेको घोषणा गरिसकेको र त्यसपछि पनि आफू सक्रिय रूपमा पार्टीमा संलग्न भएको प्रमाण प्रस्तुत गरेकी छन् । उनले पार्टी नेतृत्वसँग भेटेर समेत सदस्यता नवीकरणको विषयमा सहमति बनेको स्मरण गर्दै अहिले उठाइएका प्रश्नलाई अन्यौल सिर्जना गर्ने प्रयासका रूपमा व्याख्या गरेकी छन् । उनका अनुसार सदस्यता विवादले पार्टीको लोकतान्त्रिक संस्कार, जनवादी केन्द्रीयता र संगठनात्मक विधिलाई नै चुनौती दिएको छ ।
भण्डारीले पार्टीभित्र देखिएको व्यङ्ग्य, घोचपेच र मर्यादा विपरीतका अभिव्यक्तिले संगठनमा नकारात्मक प्रभाव पारेको बताउँदै यस्ता प्रवृत्तिले पार्टी मात्र होइन, सम्पूर्ण लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउने चेतावनी दिएकी छन् । उनले आफ्नो सदस्यतालाई निष्क्रिय बनाउने प्रयास पार्टीको पहलकदमी र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्तको प्रतिकूल भएको टिप्पणी गर्दै यसलाई सच्याउन आग्रह गरेकी छन् ।
उनले पार्टीभित्र विगतमा भएका आन्दोलन, संघर्ष र लोकतान्त्रिक अभ्यासलाई सम्झाउँदै त्यतिबेला सहकर्मीहरूको जायज आवाजका लागि आफू पनि साथमा रहेको उल्लेख गरेकी छन् । उनले हाल देखिएको प्रवृत्तिले त्यस्ता उपलब्धिलाई मेटाउने खतरा रहेको चेतावनी दिँदै सदस्यता विवाद केवल व्यक्तिगत नभई विधि, मूल्य र लोकतान्त्रिक अभ्याससँग गाँसिएको मुद्दा भएको बताएकी छन् ।
भण्डारीले आफ्नो राजनीतिक जीवन प्रारम्भदेखि नेकपा (माले) हुँदै नेकपा (एमाले) सँग जोडिएको स्मरण गर्दै लोकतन्त्र, न्याय र समानताका आन्दोलनमा सदैव पार्टीसँगै रहेको उल्लेख गरेकी छन् । उनले पार्टीले विशेष निर्णय गरेर आफूलाई राष्ट्रपतिमा पठाएको बेला दायित्व पूरा गर्न संविधान र राष्ट्रिय हितलाई उच्च प्राथमिकतामा राखेको पनि दोहोर्याएकी छन् । तर हाल पार्टी नेतृत्वमा देखिएको नकारात्मक प्रवृत्तिले आफ्नो योगदान र सदस्यतालाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।
उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई सहभागिता, समानता र स्वतन्त्रताको अधिकार दिएको स्मरण गराउँदै राजनीतिमा सक्रिय हुन नरोकेको स्पष्ट पारिन् । पार्टीले सदस्यता विवादलाई सच्याउन नसके संगठनको प्रतिष्ठा, शक्ति, कार्यकर्ता बीचको एकता र जनताको आस्था कमजोर हुने उनको ठम्याइ छ । त्यसैले उनले पार्टीभित्र विधि, पद्धति, विधान र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै एकजुट भएर अगाडि बढ्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेकी छन् ।
पत्रको अन्त्यमा उनले आफ्नो आग्रह कुनै व्यक्तिगत आकांक्षाका लागि नभई पार्टीभित्रको विधि, संस्कार र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि भएको स्पष्ट गर्दै प्रतिनिधिहरूले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखेकी छन् । उनले सत्य र न्यायको आवाजलाई जीवन्त बनाइराख्न आग्रह गर्दै पार्टी सबल भए मात्र देश बलियो हुने, समाजवादको आधार निर्माण गर्न सकिने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य पूरा गर्न सकिने विश्वास व्यक्त गरेकी छन् ।
