
- श्री लक्ष्मी ज्वैलरी यूएईद्वारा आयोजित तीज कार्यक्रम बाढीपीडितको सहयोगका लागि केन्द्रित गरिएको थियो।
- संकलित ५ लाख रुपैयाँ राहत रकम नेपालका बाढीपहिरो प्रभावितहरूलाई पठाइने भएको छ।
- गायक पुस्कल शर्मा र गायिका रमिला न्यौपानेले देश शोकमा रहेकाले गीत नगाएर मानवीय उदाहरण प्रस्तुत गर्नुभयो।
पूजा शर्मा यूएई ।श्री लक्ष्मी ज्वैलरी यूएईको आयोजनामा बर दुबईमा ‘तीज विशेष कार्यक्रम: सिजन–२’ भव्य रूपमा सम्पन्न भएको छ। नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोको दुःखद घडीलाई मध्यनजर गर्दै संस्थाले यसपटकको कार्यक्रमलाई पूर्ण रूपमा मानवीय सहयोगमा केन्द्रित गरेको हो। कार्यक्रमबाट कुल ५ लाख रुपैयाँ राहत रकम संकलन भएको र उक्त सम्पूर्ण रकम नेपालका बाढीपहिरो प्रभावित पीडितहरूको उद्धार तथा राहतका लागि पठाइने श्री लक्ष्मी ज्वैलरीले जनाएको छ।यस दुःखद समयमा कार्यक्रमका मुख्य आमन्त्रित कलाकारद्वय लोकप्रिय गायक पुस्कल शर्मा र चर्चित गायिका रमिला न्यौपानेले स्टेजबाट आफ्नो गायन प्रस्तुति राख्नुभएन।

देश शोकमा डुबेका बेला गीत गाएर रमाइलो गर्न आफ्नो मनले नमानेको भन्दै गायक शर्माले स्टेजबाट राख्नुभएको मन्तव्यले हलमा उपस्थित सम्पूर्ण नेपाली दर्शकहरूलाई स्तब्ध र भावुक बनाएको थियो। स्टेजबाट भावुक हुँदै शर्माले देश रोइरहेको बेला आफ्नो मनले गीत गाउन नचाहने बताउँदै आफू केवल प्रवासी नेपालीहरूसँग भेटघाट गर्न र राहत तथा चन्दा संकलन गर्न मात्र आएको उल्लेख गर्नुभयो। कलाकार शर्माको यो मानवीय भावना र देशप्रतिको उत्तरदायित्व देखेपछि त्यहाँ उपस्थित नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू निकै भावुक बनेका थिए र उनको यो कदमलाई दर्शकहरूले पूर्ण रूपमा सपोर्ट गरेका छन्।
यतिबेला दुबईका हरेक गल्ली र नेपाली समुदायमा पुस्कल शर्माको यो महानताको व्यापक प्रशंसा र चर्चा भइरहेको छ।कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुतिहरूलाई थाती राखेर बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। सो अवसरमा राष्ट्रिय झण्डा झुकाउने, मौन धारण गर्ने र मैनबत्ती बालेर प्रार्थना गर्ने जस्ता कार्यहरू गरिएका थिए भने पीडित परिवारहरूमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको थियो। यसै सिलसिलामा दुबई आउनुभएका अन्य कलाकारहरू श्याम राना, प्रकाश सपूत र सुमित्रा कोइराला लगायतले भने आ-आफ्नो विभिन्न अन्य निर्धारित कार्यक्रमहरूमा प्रस्तुति राख्नुभएको थियो। तर श्री लक्ष्मी ज्वैलरीको स्टेजमा पुस्कल शर्मा र रमिला न्यौपानेले देखाएको यो त्याग र मानवीयताले प्रवासमा एउटा ऐतिहासिक र अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ।
