मुगु- मुगु गाउँपालिकाको पश्चिम क्षेत्र खत्याड गाउँपालिका–७, रामटडीस्थित श्री लोकप्रिय उच्च माध्यमिक विद्यालय परिसरमा आजदेखि निःशुल्क आँखा शिविर सुरु भएको छ।

आइतबारदेखि सञ्चालनमा आएको सो शिविरमा मोतीबिन्दु तथा टेरिजियम (तेलपात) का बिरामीहरूको निःशुल्क शल्यक्रिया सहित विभिन्न आँखा सेवाहरू प्रदान गरिँदैछ।

नेपाल नेत्र ज्योति संघ, जिल्ला आँखा उपचार केन्द्र मुगुका इन्चार्ज ध्रुव बुढा थापाका अनुसार शिविरमा मोतीबिन्दु तथा टेरिजियमको निःशुल्क शल्यक्रिया, साधारण आँखा परीक्षण, औषधि वितरण तथा चस्मा वितरण जस्ता सेवा प्रदान गरिएका छन्।
शिविर नेपाल नेत्रज्योति सङ्घ मुगु शाखा र हिमालय आँखा अस्पताल पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा, तथा खत्याड गाउँपालिकाको समन्वयमा दुई दिनका लागि सञ्चालन भइरहेको हो।

यस शिविरमा मुगुम कार्मारोङ गाउँपालिका, छायाँनाथ रारा नगरपालिका, सोरु, जुम्ला र बाजुरासहितका बिरामीहरूलाई लक्षित गर्दै सेवा दिइएको छ। हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा. अनिल पराजुलीको नेतृत्वमा आएको स्वास्थ्य टोलीले शिविरमा सेवा प्रदान गरिरहेको छ।
डा. पराजुलीका अनुसार मोतीबिन्दु पत्ता लागेका सबै सेवाग्राहीको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। शिविरबाट बालबालिका, ज्येष्ठ नागरिक तथा आँखासम्बन्धी समस्या रहेका सेवाग्राहीहरू लाभान्वित भएका छन्। न्यून दृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका सेवाग्राहीलाई आवश्यकताअनुसार थप उपचार तथा चस्मा वितरण गरिएको जनाइएको छ।
शिविर सञ्चालनमा जिल्ला आँखा उपचार केन्द्र मुगुको पनि सक्रिय समन्वय रहेको आयोजकहरूले जनाएको छ।


