
- हस्त बहादुर मल्ल मुगुमा नेपाली कांग्रेसका संस्थापक नेता तथा विकासका बलियो स्तम्भ हुन्।
- उनले आफ्नो मन्त्री कार्यकालमा विद्यालय स्थापना र छात्रवृत्ति प्रदान गरी मुगुमा शैक्षिक क्रान्तिको जग बसालेका थिए।
- उनी अहिले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यका उम्मेदवार छन्।
रतन बहादर रावल मुगु-नेपाली कांग्रेसका केन्द्रीय महाअधिवेशनमा पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य पदका उम्मेदवार रहेका हस्त बहादुर मल्ल मुगु जिल्लाको राजनीति र समग्र विकासको इतिहासमा एउटा बलियो स्तम्भ हुन्। मुगुमा नेपाली कांग्रेसको संगठन स्थापना गर्ने संस्थापक नेताका रूपमा चिनिने मल्ल लामो समयदेखि जिल्लाका जनतामाझ एक निष्ठावान्, बौद्धिक र प्रिय जननेताका रूपमा स्थापित छन्।

दुर्गममा शिक्षालाई पहिलो प्राथमिकता
विकट भूगोल र चेतनाको कमीका कारण मुगु लामो समयसम्म विकासको मुख्य प्रवाहबाट टाढा रह्यो। वि.सं. २०४८ सालमा निर्वाचित भएपछि गठित मन्त्रिपरिषद्मा शिक्षा सहायक मन्त्री (राज्यमन्त्री) को जिम्मेवारी सम्हालेका मल्लले मुगुका जनताका लागि “शिक्षा” नै पहिलो र निर्विकल्प हतियार भएको बुझेका थिए।

“मुगाली जनता र यहाँका बालबालिकाहरू दुर्गम भएकै कारण शिक्षा पाउने अधिकारबाट बञ्चित हुनु हुँदैन र यस क्षेत्रका बासिन्दाले अब शिक्षाका लागि दुःख पाउनु हुँदैन” भन्ने स्पष्ट सोचका साथ उनले आफ्नो कार्यकालमा मुगुमा शैक्षिक क्रान्तिको जग बसालेका थिए। उनी मन्त्री हुँदा जिल्लाभरि विद्यालयहरूको स्थापना, शिक्षक दरबन्दीको व्यवस्था र विपन्न विद्यार्थीहरूका लागि छात्रवृत्तिको प्रबन्ध मिलाउन ठूलो भूमिका खेलेका थिए।
जिल्लाको विकासमा फड्को मल्ल मन्त्री बनेसँगै मुगुले २७ वर्षसम्म सङ्घीय सरकारमा पाउन नसकेको बलियो प्रतिनिधित्व पाएको थियो। उनले मुगुको पूर्वाधार विकास, सडक सञ्जालको सम्भाव्यता अध्ययन, स्वास्थ्य क्षेत्रको सुधार तथा खानेपानी र विद्युतीकरणको क्षेत्रमा उल्लेखनीय कामहरू अघि बढाए।
दुर्गम जिल्लालाई सुगमसँग जोड्न र मुगुको मुहार बदल्न उनले चालेका कतिपय कदमहरू आजपर्यन्त मुगाली जनताले गर्वका साथ स्मरण गर्छन्।
सबैका प्रिय र बौद्धिक अभिभावक
राजनीतिमा सधैं निष्ठा र इमानदारीलाई शिरोपर गर्ने हस्त बहादुर मल्ल जिल्लाका केवल एक पार्टीका नेता मात्र नभएर सम्पूर्ण मुगाली जनताका साझा र प्रिय अभिभावक हुन्। उनको तार्किक क्षमता र बौद्धिक विचारका कारण पार्टीभित्र र बाहिर उनको छुट्टै सम्मान छ।
अहिले नेपाली कांग्रेसको केन्द्रीय महाअधिवेशनमा पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उनको उम्मेदवारी पर्नुले मुगु लगायत सिंगो कर्णाली प्रदेश र पिछडिएका क्षेत्रहरूको आवाजलाई राष्ट्रिय तहमा बुलन्द पार्ने विश्वास गरिएको छ।
“समाजको उत्थान, पिछडिएको क्षेत्रको विकास र समावेशी लोकतन्त्रका लागि हामी सधैं प्रतिबद्ध छौं” भन्ने मूल नाराका साथ चुनावी मैदानमा रहेका नेता मल्लको आगामी यात्रा अझ सफल रहने र उनले देशकै नेतृत्व तहमा पुगेर पिछडिएको क्षेत्रको हितमा काम गर्ने मुगु जिल्लाबासीको अपेक्षा छ।
