
- चर्चित गायक पुस्कल शर्माले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
- महोत्तरीको बर्दिबासमा असोज २२ देखि २४ गतेसम्म हुने ९औँ महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।
- शर्माको लामो समयको संस्थागत योगदान र लोक सङ्गीतप्रրति उहाँको सक्रियताका कारण उम्मेदवारीलाई सबैले सकारात्मक रूपमा हेरेका छन्।
पुजा शर्मा – नेपाली लोक सङ्गीत क्षेत्रको प्रतिष्ठित संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल को आगामी ९औँ राष्ट्रिय महाधिवेशनमा चर्चित गायक पुस्कल शर्माले उपाध्यक्ष पदका लागि बलियो दाबेदारी प्रस्तुत गर्नुभएको छ।

प्रतिष्ठानमा लामो समयदेखि जिम्मेवारी कुशलतापूर्वक निभाउँदै आउनुभएका शर्माले यसपटक पनि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने तयारी गर्नुभएको हो।

विगतका कार्यकालहरूमा केन्द्रीय कार्यसमितिमा रहेर संस्थागत विकास र स्रष्टाहरूको हकहितका लागि निरन्तर आवाज उठाउँदै आउनुभएका शर्मा कलाकारहरू माझ निकै लोकप्रिय र भरोसायोग्य व्यक्तित्व मानिनुहुन्छ। ‘हाम्रो अभियानः लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ महोत्तरीको बर्दिबासमा असोज २२, २३ र २४ गते आयोजना हुन गइरहेको महाधिवेशनले ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।
देशैभरिबाट करिब १ हजार ५ सय प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहने यस महाधिवेशनमा शर्माको उम्मेदवारीलाई आम स्रष्टा तथा प्रतिनिधिहरूले निकै चासो र सकारात्मक रूपमा हेरेका छन्।
