
- लगातारको वर्षा र पहिरोका कारण कर्णालीका सातवटा मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
- सडक बन्द हुँदा सयौँ यात्रु र मालवाहक सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन्।
- सम्बन्धित निकायले पहिरो पन्छाउने काम गरिरहेको छ भने प्रशासनले अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
रतन बहादुर रावल मुगु । लगातारको वर्षा र त्यसपछि आएको पहिरोका कारण कर्णाली प्रदेशका विभिन्न ७ मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।

असोज ८ गते बेलुकादेखि असोज १० गते बिहानसम्म खसेको पहिरोले कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग, कर्णाली करिडोर लगायतका मुख्य व्यापारिक तथा रणनीतिक सडकहरू ठप्प भएका हुन्।
कर्णाली राजमार्ग (कालिकोट र सुर्खेत खण्ड): असोज ९ गते बेलुका ७:३५ बजे कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा वर्षादका कारण सडक अवरुद्ध भएको छ। यस्तै, असोज १० गते बिहान ७:१० बजे सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो जाँदा कर्णाली राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ।
मध्यपहाडी राजमार्ग (रुकुम पश्चिम): असोज १० गते बिहान ७:०० बजे रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ स्थित सम्लेखोलामा पहिरो खस्दा सवारी साधनहरूको आवतजावत बन्द भएको छ। त्यस्तै गरी कर्णाली राजमार्ग अन्तर्गत गमगढी नाक्चे लाग्ना सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको एक महिना भइसकेको छ।

कर्णाली करिडोर (हुम्ला): हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा पहिरो आउँदा सडक अवरोध भएको छ।
राप्ती राजमार्ग र सल्यानका सडकहरू: सल्यानको कपुरकोट पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ। यस्तै, सल्यान–सुर्खेत सडक खण्ड अन्तर्गत बनगाड कुपिन्डे नगरपालिका–८ ज्यालेमा बिहान ८:२५ बजे र लुहाम–कालिमाटी सडक खण्डको पहिरो गई बाटो पूर्ण रूपमा अवरोध भएको छ।
अहिले मुख्य राजमार्गहरू नै अवरुद्ध हुँदा सयौँ यात्रु र मालवाहक सवारी साधनहरू बाटोमै अलपत्र परेका छन्। सम्बन्धित जिल्लाका सुरक्षा निकाय, स्थानीय तह र सडक विभागको समन्वयमा पहिरो पन्छाउने र राजमार्ग पुन: सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। लगातारको वर्षा र पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक कामबाहेक यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र निस्कन स्थानीय प्रशासनले आग्रह गरेको छ।
