
- आज देशभरका मुख्य समाचारका तीन बुँदाहरू निम्न छन्:
- नेपालभर ऋषिपञ्चमी पर्व धार्मिक विधिपूर्वक मनाइरहँदा स्याङ्जाको वालिङमा स्नान गर्ने क्रममा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
- कृष्णभीरमा पहिरोले अवरुद्ध सडकमा नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ भने प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोडभन्दा बढी रकम मौज्दात रहेको छ।
राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिन भरका समाचार

१. ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्।प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म सकी तीज व्रतको पारायण गरेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।यस वर्ष चौथी तिथि टुटी तीज व्रतको भोलिपल्ट नै ऋषिपञ्चमी पर्व परेकाले व्रत पारायण सकेपछि पञ्चमी स्नानलगायत कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको मत छ।हरितालिका (तीज) को व्रत एवं पूजा आजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।महिलामा रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी, र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ। यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उनले बताए।
२.स्याङ्जाको वालिङमा आज बिहान ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्ने एक महिलाको खोलाले बगाउँदा निधन भएको छ। वालिङ नगरपालिका-९ भूम्रेकि ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिए।उनका अनुसार भूम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो। वडा प्रहरी कार्यालय वालिङ, जनप्रतिनिधि, स्थानीयवासीले खोजी गर्ने क्रममा झण्डै चार किलोमिटर तल वालिङ-१३ शान्तिघाटस्थित आँधीखोलामा ढुङ्गामा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ।
३. लिड्स युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४-१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। एलान्ड रोडमा भएको खेलमा लिड्सले पहिलो हाफमै तीन गोल गर्दै खेल आफ्नो नियन्त्रणमा लिएको थियो।लिड्सले न्युक्यासलका लुइस माइलीको आत्मघाती गोलबाट अग्रता लिएको थियो। त्यसको दुई मिनेटमै जेयडेन बोगलले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्ज्युरी समयमा डोमिनिक काल्भर्ट-लेविनले गोल गरेपछि लिड्स ३-० ले अघि रह्यो।दोस्रो हाफमा पनि लिड्सले न्युक्यासलमाथि दबाब कायमै राख्यो। ५९औँ मिनेटमा नोआ ओकाफोरले गोल गर्दै लिड्सको अग्रता ४-० बनाए न्युक्यासलका बाजुमाना ट्राओरेले ९०औँ मिनेटमा एक गोल फर्काए पनि टोलीलाई खेलमा फर्काउन त्यो पर्याप्त भएन। ४-१ को जितसँगै लिड्सले अपराजित यात्रा जारी राख्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
४. जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार हाल कोसी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भेगमा साधारणतया बादल तथा बाँकी तराईमा आंशिक बादल लागेको छ। अनि कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोसी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा भने भारी वर्षा पनि भइरहेको छ।मौसम महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र मधेस प्रदेश तथा कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
५. पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ।आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका गर्न तीव्रता दिइएको हो।नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार आज ११औं दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ।‘सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौं,’ उनले भने। निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११/१२ उपकरण परिचालन गरिएको थियो।अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०/५० जना दक्ष तथा मजदुर परिचालन गरिएको छ।आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच/छ वटा हेभी इक्युपमेन्ट प्रयोग भइरहेका छन्।हाल नयाँ ट्र्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ। सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रेन निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए। सब-बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने उनको भनाइ छ। करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको उनले बताए।‘यो खण्ड अलिकति जोखिम छ। थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन हुन्छ,’ उनले भने। नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको बताए। उनले परीक्षणका लागि मात्र आइतबार केही सवारीसाधन पास गराइएको र अहिले नयाँ ट्र्याक पूर्णरूपमा बन्द रहेको जानकारी दिए।‘सर्वसाधारण नयाँ ट्र्याक खुला गरिएको भ्रममा नपर्नुहोला। परीक्षणका लागि मात्र केही हिँजो सवारीसाधन पास गराइएको हो,’ उनले भने। थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याक नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको उनले बताए।
६.प्रधानमन्त्री राहत कोषमा रकम जम्मा हुने क्रम बढेसँगै १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६ सय ६ रुपैयाँ मौज्दात पुगेको छ ।कोषमा सङ्कलन भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५ सय १७ रुपैयाँ रहेको छ ।त्यसैगरी दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३६ लाख १२ हजार ५ सय ९६ अमेरिकी डलर मौज्दात रहेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यसअघि कोषबाट बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा भइसकेको छ ।उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत राहत तथा पुनरुत्थानका लागि पठाइएको हो।
७. आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको हो।आज सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँ कायम भएको छ। सोमबार भने चाँदीको मूल्य ४ हजार ६ सय २० रुपैयाँ थियो।
८. बैंकिङ कसुर तथा ठगी अभियोगमा पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा मुद्दामा अनुसन्धान भइरहेको खुलेको छ।बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले राखेको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका तामाङलाई बैठकलगत्तै प्रहरीले परिसरबाटै नियन्त्रणमा लिएको थियो।अरुण अर्यालको जाहेरीका आधारमा परेको बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङको ‘क्रिमिनल रेकर्ड सिस्टम’ (सीआरएस) अभिलेख जाँच गर्दा बैंकिङ कसुर र ठगीका १० वटा बेग्लाबेग्लै मुद्दा फेला परेका छन्।तामाङमाथि अदालतबाट म्याद थप गरी सबै मुद्दामा गम्भीरताका साथ अनुसन्धान अगाडि बढाइने परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।पछिल्लो समय भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोट लगायतका क्षेत्र प्रभावित भएपछि राहत, पुनःस्थापना र उद्धार कार्यको समीक्षाका लागि प्रधानमन्त्री कार्यालयमा जनप्रतिनिधिहरूको बैठक बोलाइएको थियो।सोही बैठकमा सहभागी भएर फर्किने क्रममा तामाङ पक्राउ परेका हुन्।
९. अमेरिकी सर्वोच्च अदालतले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि मेल-इन (हुलाकमार्फत हुने) मतदानमा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रयासलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।सर्वोच्चले प्रशासनको माग अस्वीकार गरेपछि लाखौं मतदाताको हुलाकमार्फत मत खसाल्न पाउने अधिकार हाललाई कायम रहने भएको छ।अदालतका न्यायाधीशहरूमध्ये दुई जना (न्यायाधीश स्यामुअल अलिको र क्लारेन्स थोमस) ले भने निर्णयप्रति असहमति जनाएका थिए। न्यायाधीश ब्रेट काभानगले ट्रम्पको योजना भविष्यका निर्वाचनमा कानूनी हुन सक्ने भए पनि स्थानीय निर्वाचन अधिकारीहरूलाई आगामी निर्वाचनअघि यसलाई कार्यान्वयन गर्न पर्याप्त समय नरहेको उल्लेख गरेका छन्।ट्रम्पले मार्च महिनामा हुलाकमार्फत हुने मतदानमा प्रतिबन्ध लगाउने र कडाइ गर्ने कार्यकारी आदेश जारी गरेका थिए। उनले ठोस प्रमाणबिना नै हुलाक मतदानमा व्यापक धाँधलीको जोखिम रहेको दाबी गरेका थिए। उक्त आदेशविरुद्ध डेमोक्रेटिक नेतृत्वका राज्यहरूले संविधानअनुसार निर्वाचन व्यवस्थापनको अधिकार राज्यसँग रहने भन्दै अदालतमा चुनौती दिएका थिए।ट्रम्पको आदेशमा योग्य मतदाताको सूची तयार गरी अमेरिकी हुलाक सेवालाई सो सूचीमा परेका मतदातालाई मात्र मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको थियो।नर्थ क्यारोलिना लगायतका केही राज्यले मतदातालाई मेल-इन मतपत्र पठाउन सुरु गरिसकेकाले अन्तिम समयको कानूनी फेरबदलले निर्वाचन व्यवस्थापनमा अराजकता सिर्जना हुने चेतावनी राज्यका अधिकारीहरूले दिएका थिए।
१०. नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाट १ सय रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।बैंकको मुद्रा व्यवस्थापन विभाग, आन्तरिक प्रशासन फाँटले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै एटीएमबाट हाल वितरण हुँदै आएका १ हजार र ५ सय रुपैयाँ दरका नोटसँगै १ सय रुपैयाँ दरका नोट पनि वितरण गर्न आग्रह गरेको हो।बैंकले नजिकिँदै गरेको बडादशैंलाई मध्यनजर गर्दै एटीएमबाट १ सय रुपैयाँका नोट वितरण गर्न सके बैंक तथा वित्तीय संस्थामा साना दरका नोट साट्न आउने ग्राहकको भीड उल्लेख्य रूपमा कम हुने जनाएको छ।
