
- त्रिपुरेश्वरमा बसमा भएको आगलागीबाट गम्भीर घाइते भएका चालकको उपचारका क्रममा निधन भएको छ।
- घटनाको यथार्थ पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।
- ट्राफिक प्रहरीले जरिवाना काट्ने क्रममा भएको विवादले उक्त आगजनीको घटना निम्तिएको थियो।
काठमाडौ।काठमाडौंको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ।

कीर्तिपुर अस्पताल (बर्न अस्पताल) मा उपचाररत चालकको सोमबार राति नै मृत्यु भएको अस्पतालका बर्न प्लास्टिक सर्जन शंकरमान राईले नागरिकलाई जानकारी दिए।
उनले बस चालकको राति १० बजे नै मृत्यु भएको पुष्टि गरे। मृतक चालकको नाम ठेगाना खुल्न बाँकी रहेको बताइएको छ।
छानबिन समिति गठन
त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो। बा५ख ४२७४ नम्बरको बसमा आगजनी भएको थियो।
समितिको सदस्यमा प्रहरीवृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धी यातायात प्रालिका प्रतिनिधि लव केसी रहेका छन्।
त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बस चालकलाई ट्राफिक नियमन उल्लङ्घन गरेका विषयमा पुर्जी काट्न खोज्दा विवाद भएको थियो। उक्त विवादपछि बसमा आगजनी भएको थियो। छानबिन समितिले घटनाको सत्यतथ्य पत्ता लगाउने र सात दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रतिवेदन पेस गर्नेछ।
