
- सल्यानको त्रिवेणीमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित ६ जना गम्भीर घाइते भएका छन्।
- अनियन्त्रित भई जिप सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
- घाइतेहरूको उद्धार गरी उपचारका लागि सल्यान र दाङ पठाइएको छ।
काठमाडौ।सल्यानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकसहित ६ जना गम्भीर घाइते भएका छन्।

त्रिवेणी गाउँपालिका ५ सिम्खबाट लुहाम हुँदै तुलसीपुरतर्फ जाँदै गरेको लु प्र ०२००१ ज ०००५ नम्बरको बोलेरो जिप सिम्खमा दुर्घटनामा परेको हो।
जिप अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका ५ सिम्खका २९ वर्षीय तारक बोहरा, २४ वर्षीय भूपाल पुन, ५० वर्षीय डिल्लीबहादुर वली र ४२ वर्षीया लालमती बुढाथोकीसहित ६ जना गम्भीर घाइते भएका छन्।
घाइतेमध्ये दुई जनाको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि सबै घाइतेलाई उद्धार गरी उपचारका लागि लुहाम पठाइएको थियो। त्यसमध्ये दुई जनालाई जिल्ला अस्पताल सल्यान ल्याइएको छ भने तीन जनालाई लुहामस्थित पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि दाङ पठाइएको प्रहरी निरीक्षक भट्टराईले नेपाल खोज खबर लाई जानकारी दिए।
