
- पाल्पामा दुई महिनाको अवधिमा १७१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
- तराईका साथै पहाडी क्षेत्रमा समेत डेंगु फैलाउने लामखुट्टेको प्रभाव बढेको छ।
- डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा जोड दिइएको छ।
तानसेन।पाल्पाका अस्पतालहरूमा डेङ्गुबाट सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । साउन र भदौ महिनामा डेङ्गुबाट सङ्क्रमित बिरामी १७१ पुगेकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।
पाल्पामा यो वर्षको दुई महिनामै एक सय ७१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।पछिल्लो दुई महिनाको अवधिमा डेङ्गुबाट सङ्क्रमित हुने बिरामी बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।
दश वर्षअघिसम्म तराईमा मात्र देखिने डेङ्गु सार्ने डेङ्गु एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको प्रभाव पछिल्लो समय पहाडमा देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमै डेङ्गुका बिरामी सबैभन्दा धेरै पाल्पाको रहेको बताउनुभयो ।
डेङ्गुको सङ्क्रमण भएका बिरामी टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने समस्या लिएर अस्पताल आउने गरेका छन् ।
डेङ्गु सङ्क्रमित बिरामीलाई भर्ना गरेर उपचार गर्नुपरेको अस्पतालको भनाइ छ । डेङ्गु सङ्क्रमणपछि शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

सचेतना तथा अभिमुखीकरण कार्यक्रम
यसैबीच स्वास्थ्य कार्यालय पाल्पाकाे आयाेजनामा आइतबार तानसेनमा सराेकारवालासँग पैरवी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । जिल्लास्थित सराेकारवालाहरू सहभागी अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले डेङ्गु नियन्त्रणका लागि आम नागरिकले सचेत भएर व्यवहार गर्नुपर्नेमा जाेड दिनुभयाे । उहाँले डेङ्गुका कारण सम्पत्ति र मानिसकाे ज्यान समेत जान सक्ने भएकाले डेङ्गुकाे लार्भा नष्ट अभियान चलाउनुपर्नेमा जाेड दिनुभयाे । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका बरिष्ठ ल्याब टेक्निसियन मधुसुधन भट्टराईले डेङ्गु सङ्क्रमणबारे जानकारी दिनुभएकाे थियाे । अभिमुखीकरण कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गाैरव ढकालकाे अध्यक्षता र जनस्वास्थ्य अधिकृत हुमनाथ आलेकाे संचालनमा भएकाे हाे । अभिमुखीकरण कार्यक्रममा जिल्लास्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे ।
