
- इरान र अमेरिकाबीच बढेको पछिल्लो द्वन्द्वले विश्व बजारमा अनिश्चितता सिर्जना गरेको छ।
- कच्चा तेलको मूल्यमा भारी वृद्धि हुँदा विश्वभरका प्रमुख सेयर बजार घटेका छन्।
- स्ट्रेट अफ हर्मुज मार्ग प्रभावित हुँदा तेलको आपूर्ति र ढुवानी लागत महँगो भएको छ।
इरानसँगको द्वन्द्वमा एक महिनाभन्दा बढी समयसम्म उल्लेखनीय भीडन्त नभए पनि पुनः हिंसा भड्किएपछि भविष्यलाई लिएर अनिश्चितता बढेको छ । यसको प्रभाव विश्व बजारमा परेको छ । मङ्गलबार तेलको मूल्य करिब दुई प्रतिशतले बढ्दा विश्वभरका सेयर बजारमा गिरावट आएको छ ।

अनलाइन ‘फास्ट फेसन’ खुद्रा विक्रेता ‘शिन’को सेयर मङ्गलबार हङकङमा कारोबार सुरु भएलगत्तै १० प्रतिशतसम्म घटेको थियो । कारोबार बन्द हुँदा यसको मूल्य चार प्रतिशतले घटेको थियो ।
ब्रेन्ट कच्चा तेलको मूल्य दुई प्रतिशतले बढेर प्रतिब्यारेल ९२ दशमलव ३५ अमेरिकी डलर पुगेको छ । आइतबार अमेरिकाले इरानी टापुमा रहेका रकेट प्रक्षेपण केन्द्रमा आक्रमण गरेपछि सोमबार पनि तेलको मूल्य दुई दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकाले ती प्रक्षेपण केन्द्रबाट ‘स्ट्रेट अफ हर्मुज’मा समुद्री सुरुङ बम (माइन) बिछ्याउने तयारी भइरहेको दाबी गरेको थियो ।
त्यसको जवाफमा इरानले जोर्डनस्थित अमेरिकी अखडामा क्षेप्यास्त्र प्रहार गरेको थियो । ती क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाइएको छ ।
द्वन्द्वका कारण ‘स्ट्रेट अफ हर्मुज’ हुँदै हुने आवागमन सीमित भएको छ । विश्वको कुल तेल ढुवानीको करिब २० प्रतिशत यही मार्ग हुँदै हुने गरेको छ । द्वन्द्व सुरु भएयता तेलको मूल्य उच्च रहँदा पेट्रोलियम पदार्थदेखि ढुवानी गरिने सामानसम्मको मूल्य बढेको छ । अमेरिकी बेन्चमार्क कच्चा तेलको मूल्य दुई दशमलव पाँच प्रतिशतले बढेर प्रतिब्यारेल ८७ दशमलव ८४ डलर पुगेको छ ।
युरोपेली बजारको प्रारम्भिक कारोबारमा जर्मनीको ड्याक्स सूचकाङ्क एक दशमलव एक प्रतिशतले घटेर २५,९८२ दशमलव २८ मा झरेको छ । पेरिसको क्याक ४० सूचकाङ्क शून्य दशमलव चार प्रतिशतले घटेर ८,३०३ दशमलव ६५ मा सीमित भएको छ । बेलायतको एफटीएसई १०० सूचकाङ्क पनि एक दशमलव एक प्रतिशतले घटेर १०,७०२ दशमलव २५ मा आएको छ ।
