
- रसुवाको बाढी प्रभावित क्षेत्रमा प्रयोग गर्न नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटलाइट फोन प्राप्त गरेको छ।
- अन्तर्राष्ट्रिय दूरसञ्चार संघले सहयोगस्वरुप उपलब्ध गराएका यी फोन तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिनेछ।
- टावर नचाहिने भएकाले यो प्रविधि दुर्गम र सञ्चार सम्पर्क विच्छेद भएका स्थानमा निकै प्रभावकारी हुनेछ।
काठमाडौ – रसुवामा आएको बाढीका कारण सञ्चार सम्पर्क विच्छेद भएका वा सञ्चार सेवा प्रभावित रहेका क्षेत्रमा प्रयोग गर्न नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटलाइट फोन प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को तर्फबाट विपद्को समयमा नेपाललाई सहयोग स्वरूप यी फोनहरू प्राप्त भएको हो ।

यी फोन तीन महिनासम्म नि:शुल्क प्रयोग गर्न सकिने गरी प्राप्त भएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता एवम् निर्देशक मिनप्रसाद अर्यालले बताए ।
उनका अनुसार शनिबार भन्सारमा आइपुगेका यी फोनहरू आजैदेखि प्रयोगका लागि आवश्यक स्थानमा पठाउने तयारी गरिएको छ । यी सेटहरू विपद् जोखिम न्यूनीकरण प्राधिकरण समन्वयमा अति आवश्यक स्थानमा प्रयोगमा ल्याउने तयारी गरिएको हो
प्रवक्ता अर्यालले यी फोनहरूबाट डेटा र भ्वाइस सेवा लिन सकिने बताए । यी स्याटलाइट फोनहरू सामान्य मोबाइल वा वाकी-टकी भन्दा फरक प्रविधिका छन् । यसबाट सञ्चारका लागि जमिनमा रहेका टेलिफोन टावरको आवश्यकता पर्दैन । यसले सिधै स्याटलाइट मार्फत काम गर्ने भएकाले टावर नभएका वा दुर्गम स्थानमा पनि सञ्चार सम्पर्क स्थापित गर्न सकिने उनले जानकारी दिए । स्रोत टेकपाना
