काठमाडौं । सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार बैठक बसेर यस्तो निर्णय गरेको हो।

मन्त्रालयले आजैदेखि नै ती सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिसकेको छ।नेपाल खोजखबरलाई प्राप्त जानकारी र स्रोतका अनुसार दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जाल तत्काल बन्द हुने र नेपालमा दर्ता प्रक्रिया सुरु गरेपछि क्रमशः खोलिदिने निर्णय भएको छ।
यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्समार्फत विज्ञापनसहितको सामग्री प्रसारणमा प्रतिबन्ध लगाउन सरकारलाई परमादेश जारी गरेको थियो। साथै, आवश्यक कानुन निर्माण गरेर नियमन गर्न सरकारलाई निर्देशन दिइएको थियो।
बुधबार न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले नेपालमा प्रसारण हुने कुनै पनि विदेशी प्रसारण संस्था वा डिजिटल कार्यक्रम उत्पादकले सरकारबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था लागू गर्न आदेश दिएको हो।
यसै सन्दर्भमा सञ्चार मन्त्रालयले सर्वोच्चको आदेश र मन्त्रिपरिषद्को अघिल्लो निर्णयलाई कार्यान्वयन गर्दै सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रिया अघि बढाएको हो। उक्त निर्णय सङै जनमानसमा व्यापक असन्तुष्टि देखिएको छ ।
