
- देशभर मनसुनी वायुको प्रभावका कारण अहिले अधिकांश स्थानमा बदली र केही ठाउँमा वर्षा भइरहेको छ।
- आज दिनभरि नै देशभर वर्षा हुने र केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।
- भारी वर्षाले बाढी पहिरोको जोखिम बढाउने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
काठमाडौ – हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कोशी, मधेश र बागमती प्रदेशको एक दुई स्थानमा मध्यम वर्षा भैरहेको छ।
दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भाग र मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी र तराई भू-भागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।
