
- देशको संकट समाधान सस्तो लोकप्रियता वा क्षणिक उत्तेजनाबाट सम्भव छैन।
- देश रूपान्तरणका लागि वैचारिक स्पष्टता र राजनीतिक इमानदारी अपरिहार्य छ।
- आफैँ सुध्रिन नसक्ने नेतृत्वलाई देश सुधारको जिम्मा दिनु नै ठूलो भुल हो।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद पपुलिज्म वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, निश्चित गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको औंल्याएका हुन्।
महासचिव पोखरेलले देशमा व्याप्त विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मेवारी गलत नेतृत्वलाई सुम्पनु नै नेपाली समाजको ठूलो भूल भएको उल्लेख गरेका छन्।
आफैँ सुध्रिन नसकेकालाई राजनीति सुधारको जिम्मा दिनु भूल
नयाँ दल वा नेतृत्वप्रति लक्षित गर्दै पोखरेलले आफैँभित्रका विकृति र आचरणगत कमजोरीहरू सुधार्न नसक्नेहरूबाट देशको हित नहुने बताए। उनले लेखेका छन्,’आफैँभित्रका विकृति र आचरणगत कमजोरीहरू सुधार्न नसकेको नेतृत्वलाई विकृति अन्त्य र राजनीति सुधारको जिम्मा सुम्पनु नै हाम्रो सबैभन्दा ठूलो भूल थियो भन्ने कुरा नेपाली समाजले विस्तारै महसुस गर्न थालेको छ।’
उनले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली र व्यवहार पूर्णतः विरोधाभासपूर्ण देखिएको आरोप समेत लगाए।
‘चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली पूर्णतः विरोधाभासपूर्ण देखिएपछि उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको छ’, उनले लेखेका छन्।
पछिल्लो समय नेपाली राजनीतिमा ‘पपुलिज्म’ हाबी भइरहेको सन्दर्भमा एमाले नेता पोखरेलको यस्तो टिप्पणी आएको हो, जहाँ उनले देश निर्माणका लागि क्षणिक आवेग नभई गम्भीर वैचारिक जग आवश्यक पर्ने कुरामा जोड दिएका छन्।
