
काठमाडौं। हाल देशमा कुनै महत्वपूर्ण मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिन अनुसार देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
तर, मधेश प्रदेश, कोशी प्रदेश तथा तराईका धेरै स्थानमा बिहानैदेखि बाक्लो हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। यस्तै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ।
तराईका क्षेत्रमा हुस्सु/कुहिरोका प्रभाव
मधेश र कोशी प्रदेशका धेरै भागमा हुस्सु/कुहिरो दिउँसोसम्म क्रमिक रूपमा हट्नेछ।
अन्य केही तराई क्षेत्रहरूमा बिहान मध्यान्हसम्म कुहिरो रहन सक्ने सम्भावना छ।
दिउँसोको समयमा देशभर मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टामा कुहिरोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। विशेष गरी सवारी चालक तथा हवाई यात्रुहरूका लागि कुहिरोका कारण दृश्यता कमजोर हुने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।
समग्र रूपमा देशभर मौसम सफा रहने भए पनि तराईका विभिन्न स्थानमा हुस्सु/कुहिरोको प्रभाव पर्ने भएकाले सचेत रहनुपर्ने देखिन्छ। साथै, बिहानपखको चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।
