आज २१३औँ भानु जयन्ती मनाइँदै

समाचार सारांश
Auto Generated by AI
  • नेपाली भाषा र साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज स्वदेश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदै छ।
  • वाल्मीकि रामायणलाई नेपाली जनबोलीमा अनुवाद गरी नेपाली भाषा र साहित्यलाई भावनात्मक एकतामा बाँध्ने ऐतिहासिक योगदान उहाँले दिनुभएको थियो।
  • घाँसीको प्रेरणाबाट सिर्जनामा लाग्नुभएका आदिकविको साहित्यिक योगदान र राष्ट्रिय एकताप्रतिको भूमिका आज पनि उत्तिकै सान्दर्भिक र अनुकरणीय मानिन्छ।

काठमाडौ – नेपाली भाषा, साहित्य र राष्ट्रिय सांस्कृतिक चेतनाका आधारस्तम्भ आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज (सोमबार) देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष असार २९ गते मनाइने भानुजयन्तीका अवसरमा साहित्यिक, शैक्षिक तथा सांस्कृतिक संस्थाले प्रभातफेरी, रथारोहण, माल्यार्पण, कवि गोष्ठी, सम्मान तथा साहित्यिक कार्यक्रम आयोजना गरेका छन् ।

Workplace

 

भानु प्रतिष्ठान, काठमाडौंले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट नगरपरिक्रमा, रथारोहण, प्रभातफेरी तथा आदिकविप्रति श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहित साहित्यकार, संस्कृतिकर्मी, शिक्षाविद् तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता रहने जनाइएको छ । यस्तै, नेपाली शिक्षा परिषद्को आयोजना तथा भानु माध्यमिक विद्यालयको सहआयोजनामा रानीपोखरीस्थित भानुभक्तको सालिकमा माल्यार्पण कार्यक्रम सम्पन्न हुँदै छ । परिषद्का अनुसार दिउँसो लेखनाथ साहित्य सदनमा आयोजित विशेष कार्यक्रममा साहित्यकार भुवनहरि सिग्देललाई सम्मान गरिनेछ ।

यस अवसरमा भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाले देशभर कविता वाचन, साहित्यिक अन्तरक्रिया, सांस्कृतिक प्रस्तुति तथा विचार गोष्ठी आयोजना गरेका छन् । भारतका दार्जिलिङ, सिक्किम, असम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय बसोबास गर्ने विभिन्न स्थानमा पनि भानुजयन्ती विशेष उत्साहका साथ मनाइँदै छ ।

आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा भएको थियो । संस्कृत भाषामा रचित वाल्मीकि रामायणलाई सरल, सहज र जनबोलीको नेपाली भाषामा भावानुवाद गरी प्रस्तुत गरेर उहाँले नेपाली भाषा र साहित्यमा ऐतिहासिक योगदान दिनुभएको छ । उहाँको रामायणले नेपाली समाजमा धार्मिक ग्रन्थ मात्र नभई भाषिक एकताको माध्यमका रूपमा पनि विशेष स्थान बनाएको छ । आज पनि देशका धेरै घरमा भानुभक्तद्वारा अनुदित रामायणको सस्वर पाठ गर्ने परम्परा जीवित छ ।

भानुभक्तलाई साहित्य सिर्जनाको प्रेरणा एक घाँसीले दिएको जीवनदर्शनबाट प्राप्त भएको जनविश्वास छ । ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भन्ने घाँसीको सन्देशबाट प्रेरित भएर उहाँले साहित्य सिर्जनामा लाग्नुभएको थियो । त्यसपछि उहाँले नेपाली भाषालाई जनसाधारणसम्म पुर्‍याउने उद्देश्यले सरल भाषामा विभिन्न कृति रचना गर्नुभएको थियो । भानुभक्तका प्रमुख कृतिमा रामायण, प्रश्नोत्तर, भक्तमाला र बधुशिक्षा लगायतका रचना पर्छन् । उहाँका बिखरिएका पाण्डुलिपि संकलन गरी पुस्तकका रूपमा प्रकाशन गर्ने श्रेय साहित्यकार मोतीराम भट्टलाई जान्छ । मोतीरामले नै पहिलो पटक भानुभक्तलाई ‘आदिकवि’को उपाधि दिनुभएको थियो, जसपछि उहाँ नेपाली साहित्यमा व्यापक रूपमा परिचित बन्नुभयो ।

इतिहासकार तथा साहित्यकारका अनुसार पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रूपमा एकीकरण गर्नुभयो भने भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत नेपाली समाजलाई भावनात्मक रूपमा एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । सरल, मिठासपूर्ण र जनबोलीमा आधारित उहाँका कृतिले नेपाली समाजमा पठनपाठन, नैतिक शिक्षा, धार्मिक चेतना तथा सांस्कृतिक विकासमा गहिरो प्रभाव पारेको मानिन्छ ।

भानुभक्तको जीवनसँग जोडिएको अर्को महत्त्वपूर्ण प्रसंग कुमारीचोकको सरकारी हिसाब नमिलेपछि जेल परेका बेला रचिएका कवितासँग सम्बन्धित छ । सरकारी ढिलासुस्ती र ‘भोलिवाद’को उहाँले कडा आलोचना गर्नुभएको थियो । उहाँको प्रसिद्ध पंक्ति– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो, बक्सियोस् आज झोली’– आज पनि समयमै काम सम्पन्न गर्नुपर्ने सन्देशका रूपमा उद्धृत गरिन्छ ।
आदिकवि भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । तर, उहाँको साहित्यिक योगदान नेपाली भाषा, संस्कृति र राष्ट्रिय पहिचानको अभिन्न आधारका रूपमा आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ ।

भानुजयन्तीका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताले शुभकामना सन्देश जारी गर्दै आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय एकताको प्रवर्द्धनमा पुर्‍याएको योगदानको स्मरण गरेका छन् । उनीहरूले भानुभक्तका आदर्श, सिर्जना र सांस्कृतिक चेतनाले भावी पुस्तालाई पनि प्रेरित गरिरहने विश्वास व्यक्त गरेका छन्

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?