
- भारतमा १२ करोड मूल्यको सुनचाँदी चोरी गरी नेपाल भाग्ने क्रममा तीन जना नेपाली मूलका व्यक्ति पक्राउ परेका छन्।
- तेलंगानाका एक व्यापारीको घरमा काम गर्ने उनीहरूले योजनाबद्ध रूपमा गहना चोरेर उत्तर प्रदेशको बाटो हुँदै नेपाल आउँदै थिए।
- रामपुर प्रहरीले उनीहरूको साथबाट ७ किलो सुन र १ किलो चाँदी बरामद गर्दै थप अनुसन्धान अगाडि बढाएको छ।
नयाँ दिल्ली- करोडौं रुपैयाँ बराबरको सुन–चाँदी चोरी गरेर नेपाल भाग्ने योजनामा रहेका नेपाली मूलका तीन जना भारतीय प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेमा श्रीमान –श्रीमती र महिलाकी बहिनी अर्थात् साली रहेका छन्। उनीहरूलाई उत्तर प्रदेशको रामपुर जिल्लाबाट नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट करिब ७ किलो सुन र १ किलो चाँदी बरामद गरेको छ। बरामद गरिएका गरगहनाको मूल्य भारतीय बजारमा झण्डै १२ करोड रुपैयाँ बराबर रहेको बताइएको छ।
घटना त्यसबेला बाहिर आयो जब तेलंगानाको एक सम्पन्न व्यापारी परिवारले घरबाट ठूलो मात्रामा सुन–चाँदी हराएको भन्दै प्रहरीमा उजुरी दियो। प्रारम्भिक अनुसन्धानमै घरमा काम गर्ने नेपाली मूलका नोकर–नोकरानीमाथि शंका केन्द्रित भयो। त्यसपछि प्रहरीले उनीहरूको मोबाइल लोकेसन, यात्रा र सम्पर्कहरूको निगरानी सुरु गरेको थियो।
अनुसन्धानका क्रममा चोरीपछि उनीहरू दक्षिण भारतबाट उत्तर प्रदेश हुँदै नेपाल प्रवेश गर्ने योजनामा रहेको तथ्य खुलेको बताइन्छ। प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको थियो। त्यसै क्रममा रामपुरको बिलासपुर क्षेत्रमा नियमित सवारी जाँच भइरहेको बेला प्रहरीले एक बसमा यात्रा गरिरहेका तीन जनामाथि शंका गरेको थियो उक्त शंका पोछि
बस रोकेर जाँच गर्दा प्रहरीले उनीहरूको झोलाबाट सुनका गरगहना, सिक्री, बाला, हीराझैँ देखिने सेट तथा चाँदीका सामग्री बरामद गरेको जनाएको छ। गहना विभिन्न कपडा र ब्यागभित्र लुकाएर राखिएको अवस्थामा भेटिएको भारतीय प्रहरीले उल्लेख गरेका छन्।
प्रहरी स्रोतका अनुसार आरोपीहरूले लामो समयदेखि घरको सुरक्षा प्रणाली, गहना राख्ने स्थान र परिवारको दिनचर्या राम्रोसँग अध्ययन गरेका थिए। घरधनी बाहिर गएको मौका छोपेर उनीहरूले योजनाबद्ध रूपमा गहना चोरी गरेका थिए।
भारतीय प्रहरीले बरामद गरिएका सम्पूर्ण गहना सुरक्षित राखिएको जनाएको छ भने तेलंगाना र उत्तर प्रदेश प्रहरी संयुक्त रूपमा थप अनुसन्धानमा जुटेका छन्। चोरीमा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाइएको छ।
प्रहरीले जानकारी दिए अनुसार आरोपीहरू नेपाल पुगेपछि गहना बेचेर लुक्ने योजना बनाइरहेका थिए। तर सीमा पुग्नुअघि नै उनीहरूको योजना असफल बनेको हो।
उक्त घटनाले भारतमा घरेलु कामदारमाथिको विश्वास, सुरक्षा व्यवस्थापन र अन्तरराज्यीय अपराध नियन्त्रणबारे गम्भीर प्रश्न खडा गरेको छ पोछिलो पल्ट यस्ता चोरिका घटना बडनु नेपाली ईमानदार कामदार हरुको लागि दु:खद खबर हो ।
