
- सांसद हरिप्रसाद भुसाल काठमाडौँ केन्द्रित नभई गाउँगाउँमा पुगेर जनताका समस्या सुन्न सक्रिय छन्।
- उनले औपचारिकता र प्रचारभन्दा पनि नागरिकसँग प्रत्यक्ष संवाद गरी समाधान खोज्ने कार्यशैली अपनाएका छन्।
- सांसदको यस्तो व्यवहारले जनप्रतिनिधि र जनताबीचको दूरी घटाउँदै जिल्लामा सकारात्मक प्रभाव पारेको छ।
अर्घाखाँची। अर्घाखाँची जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसाल यतिबेला जनतामुखी ,जनताका समस्या समाधानमा सक्रियताका साथ लागिरहेका छन्।

प्रतिनिधिसभाको पहिलो अधिवेशन सम्पन्न भएसँगै संघीय राजधानी काठमाडौँबाट जिल्ला फर्किएका भुसालले औपचारिक कार्यक्रमभन्दा जनतासँगको प्रत्यक्ष भेटघाटलाई प्राथमिकतामा राखेका छन्।
औपचारिकता भन्दा जनतासँग प्रत्यक्ष भेटलाई प्राथमिकता, समस्या सुन्ने र समाधान खोज्नेमा केन्द्रित
विगतमा सामान्यतया सांसदहरू काठमाडौंकेन्द्रित गतिविधिमा व्यस्त रहने प्रवृत्ति देखिँदै आएकोमा भुसाल भने त्यसको विपरीत गाउँ–गाउँमा पुगेर जनताको अवस्था बुझ्नमै केन्द्रित छन्।
जिल्ला फर्किएलगत्तै पारिवारिक जमघट वा औपचारिक स्वागतमा कम समय खर्च गरी उनी सिधै जनताको घरदैलोमा पुगिरहेका छन्। स्थानीयसँग घुलमिल हुँदै उनीहरूका समस्या, गुनासा र अपेक्षाहरू सुन्ने तथा समाधानका उपाय खोज्ने काममा सक्रिय देखिन्छन्।
उनले आफूले गरेका कामको प्रचारप्रसारभन्दा पनि परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिएका छन्। जनतासँग प्रत्यक्ष संवाद गर्दै उनी विकासका अवरोध, सेवाप्रवाहका समस्या तथा स्थानीय तहमा देखिएका चुनौतीबारे जानकारी संकलन गरिरहेका छन्।
स्थानीयवासीहरूका अनुसार निर्वाचित प्रतिनिधि गाउँमै पुगेर समस्या सुन्ने अभ्यासले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउन मद्दत पुगेको छ। “हामी खुसी छौं,पहिलाका नेताहरु भोट माग्न आउँथे अनि निर्वाचित भइसकेपछि खासै गाउँमा देखिदैनथे तर अहिले हामीले जिताएका सांसद फरक रहेछन्,उनले हाम्रा समस्या सुन्न गाउँमा आएका छन्।” एक स्थानीयले बताउनु भयो ।
भुसालको यही सक्रियता र जनतासँगको नजिकको सम्बन्धले उनलाई जिल्लामा फरक पहिचान दिलाउँदै गएको छ। यसैक्रममा, ‘जनता–साँसद संवाद कार्यक्रम’ लिएर उनी जिल्लाका हरेक क्षेत्र–क्षेत्रमा पुग्ने प्रयासमा छन्।

