
- इरानले आफ्नो भूमिमा अमेरिकाले आक्रमण गरे कडा र अप्रत्याशित प्रतिवाद गर्ने चेतावनी दिएको छ।
- ठूलो युद्ध भएमा त्यसको असरले सम्पूर्ण खाडी क्षेत्र र पश्चिम एसियालाई प्रभावित पार्ने इरानको भनाइ छ।
- इरानले यूएईलाई पनि चेतावनी दिँदै आफ्ना टापुहरूमा आक्रमण भएमा तटीय क्षेत्र असुरक्षित हुने जनाएको छ।
इरानी सेनाका एक उच्च अधिकारीले अमेरिकाले आफूहरूको भूमिमा ‘ग्राउन्ड अट्याक’को प्रयास गरेमा उसले ठूलो र नचिताएको जवाफ पाउने चेतावनी दिएका हुन ।

ती अधिकारीका अनुसार, इरानको भूमिमा आक्रमण गर्नु ‘रेड लाइन’ हो, जसलाई पार गर्दा युद्ध अझ खतरनाक मोडमा पुग्न सक्छ । उनले पहिले पनि ‘शत्रु’ले आक्रमण गर्दा इरानले ‘सरप्राइज’ दिएको बताए । यसपटक पनि त्यस्तै हुने उनको भनाइ थियो ।
ठूलो युद्ध भए त्यसको असर आफ्नो देशमा मात्र नभई सम्पूर्ण पश्चिम एसिया र खाडी क्षेत्रमा पर्न सक्ने इरानले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गल्ती गरेमा उक्त देशका सैनिकहरूले भारी नोक्सानी व्यहोर्नुपर्ने कडा चेतावनी दिइएको छ । परिस्थिति खराब र सैनिकहरूको शव फिर्ता लैजान समेत मुस्किल हुन सक्ने उल्लेख गरिएको छ ।
इरानले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पनि चेतावनी दिँदै आफ्नो देशका टापुहरूमा आक्रमण गरिए उसको तटीय क्षेत्र पनि सुरक्षित नरहने जनाएको छ ।
ट्रम्पले आफू हाल युद्धविरामको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
