काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लुम्बिनी प्रदेशले रास्वपाको अभद्र गतिविधि विरुद्ध गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार प्रदेश सचिव राजेन्द्र अधिकारीले विज्ञप्ति जारी गर्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का कार्यकर्ताले तुलसीपुरको विरेन्द्र चोकमा रहेको वीरेन्द्र शाहको शालिकमाथि उभिएर अपमानपूर्ण र अभद्र व्यवहारप्रति घोर भर्त्सना एव खेद प्रकट गरिएको छ ।

कसैको आस्थामा असर पर्ने यस्तो खाले अराजकतापूर्ण व्यवहार सह्य नहुने भन्दै विज्ञप्ती मार्फत चेतावनी समेत दिइएको छ ।
उक्त गतिविधिको सम्बन्धमा तत्काल रास्वपाले आफ्नो धारणा स्पष्ट पार्दै माफी माग्न राप्रपाले आग्रह समेत गरेको छ । यस्ता घटना फेरी नदोहोरिने प्रतिबद्धता गर्न समेत राप्रपाले भनेको छ ।
निर्वाचनमा मतदाताले निर्धक्क मतदान गर्न सक्ने वातावरण बनाउनु सबै जिम्मेवार पार्टीको दायित्व हुन्छ । तसर्थ स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन र अन्य दललाई असर गर्ने कुनै कार्य नगर्न सबै दल तथा व्यक्तिहरूलाई समेत आग्रह गर्दछौँ,प्रदेश सचिव अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
बिहीबार बेलुका रास्वपा सभापति लामिछाने तुलसीपुर आउनेक्रममा भेला भएका रास्वपाका कार्यकर्ताहरुले वीरेन्द्र चोकमा वीरेन्द्रको सालिकमाथि उभिएर अभद्र व्यवहार गरेको घटना सार्वजनिक भएको थियो ।
यस्तैगरी रास्वपाका कार्यकर्ताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली विरुद्ध नाराबाजी गर्दै झण्डा समेत जलाएपछि चौतर्फी विरोध भईरहेको छ । नेकपा एमाले र भातृसंगठनहरुले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् ।
