रुपन्देही । श्री लक्ष्मी सामाजिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। बुटवल–१३ जितगढीस्थित साइनो पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष खुबीराम आचार्य, प्रमुख अतिथि सहकारीका जेष्ठ सेयर सदस्य बाबुराम आचार्य, सञ्चालक समिति कोषाध्यक्ष इन्द्रबहादुर बिक, सदस्यहरू माधव भाट, नारायण प्रसाद पौडेल, शालिग्राम न्यौपाने, दीपा आचार्य, हरिप्रसाद भट्टराई, लेखा समिति संयोजक पुष्कर भुसाल, कानुनी सल्लाहकार गोविन्द आचार्य तथा निर्वाचन मण्डल व्यवस्थापक एवं सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुआत स्वागत मन्तव्य राख्दै हरिप्रसाद भट्टराईले सहकारीको निरन्तर प्रगति र सदस्यहरूबीचको एकताले संस्थालाई बलियो बनाएको उल्लेख गर्नुभयो। प्रमुख अतिथि तथा सहकारीका जेष्ठ सदस्य बाबुराम आचार्यले पानसमा दियो बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। अध्यक्ष खुबीराम आचार्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी २०७२ सालमा सानो समूहबाट स्थापना भई आज ४७३ सेयर सदस्यसहितको ठूलो परिवार बनेको बताउनुभयो। सम्पूर्ण सेयर सदस्य महानुभावहरूको अथक प्रयास र विश्वासका कारण संस्था अन्य सहकारीसँग तुलना गर्न लायक अवस्थामा पुगेको उहाँको भनाइ थियो। उहाँले हरेक सेयर सदस्यको आर्थिक सहयोगको मूल आधार सहकारी नै भएको उल्लेख गर्दै सबै सेयर सदस्यहरूलाई उत्पादनसँग जोड्न सकिएमा सबैको भविष्य उज्ज्वल हुने र सहकारी नै सबैको वित्तीय आधार बन्ने विश्वास व्यक्त गर्नुभयो। बजारमा केही सहकारी बदनाम हुने अवस्थाबीच पनि आफ्नो संस्था पारदर्शिता, अनुशासन र सामूहिक विश्वासका आधारमा सचेत रूपमा अघि बढिरहेको अध्यक्ष आचार्यले स्पष्ट पार्नुभयो।
कोषाध्यक्ष इन्द्रबहादुर बिकले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय–व्यय, लगानी र वित्तीय अवस्थाबारे सभालाई अवगत गराउनुभयो। शुभकामना मन्तव्यका क्रममा रूपलाल पन्थी र दीपा आचार्यले सहकारीले सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने सेयर सदस्य, विद्यार्थी तथा कर्मचारीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा— बाल बचततर्फ अमोल पाण्डे, दैनिकी बचततर्फ रूपलाल पन्थी, मासिक बचततर्फ पार्वती ढकाल, SEE परीक्षामा 4 GPA हासिल गर्ने दिया बन्जाडे, अशल ऋणीतर्फ ईमरान अलि शेख तथा जेष्ठ नागरिकतर्फ धन कुमारी भण्डारी रहनुभएको थियो। त्यस्तै, उत्कृष्ट व्यवस्थापकीय जिम्मेवारी पूरा गरेको भन्दै कर्मचारी गणेश खत्रीलाई विशेष सम्मान गरिएको थियो।
अधिवेशनले संस्थाको आगामी कार्यदिशा स्पष्ट गर्दै सहकारीको पारदर्शिता, सदस्यहित र दिगो विकासका पक्षमा प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन बाबुराम बन्जाडेले गर्नुभएको थियो।
तेस्रो अधिवेशन (बन्द सत्र)
तेस्रो अधिवेशनको बन्द सत्रमार्फत संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरिएको हो। नवगठित कार्यसमितिको अध्यक्षमा माधव बहादुर भाट, उपाध्यक्षमा बाबुराम बन्जाडे, सचिवमा इन्द्रबहादुर बिक र कोषाध्यक्षमा गोकुल आचार्य चयन हुनुभएको छ। कार्यसमितिका सदस्यहरूमा नारायण पौडेल, तुलसीकुमारी थापा, सन्तोष बन्जाडे, पार्वती खनाल, सीता भुसाल, रामकृष्ण कडेल र योगेन्द्र रायमाझी रहनुभएको छ।
लेखा समितितर्फ संयोजकमा नरबहादुर भण्डारी र सदस्यहरूमा सूष्मा खनाल र महेश पोखरेल निर्वाचित हुनुभएको छ। अधिवेशनमा गठन गरिएको निर्वाचन मण्डलमा निर्वाचन अधिकृत गोविन्द आचार्य तथा सदस्यहरू ओम प्रकाश पेमी र राधा कुमारी भण्डारी रहनुभएको थियो। निर्वाचन मण्डलको संयोजनमा सम्पूर्ण पदमा सर्वसम्मत मनोनयन भएको हो। नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत गोविन्द आचार्यले शपथ ग्रहण गराउनुभएको थियो। शपथ ग्रहण समारोहपछि नयाँ कार्यसमितिले सहकारीलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमको एक महत्वपूर्ण क्षणका रूपमा पूर्व अध्यक्ष खुबीराम आचार्य र नवनिर्वाचित अध्यक्ष माधव बहादुर भाटबीच रजिस्टर हस्तान्तरण गरिएको थियो। पूर्व अध्यक्ष आचार्यले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको कामना गर्नुभयो। सहकारीका सेयर सदस्य, प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न अधिवेशनले संस्थागत सुशासन, वित्तीय अनुशासन र सहकारी अभियानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

