लुम्बिनी अर्घाखाँची । हिमालय टाइम्स राष्ट्रिय दैनिकका अर्घाखाँची जिल्ला संवाददाता अविजित पन्थीले सामाजिक सञ्जाल फेसबुकमा गरेको व्यक्तिगत पोस्टको प्रतिक्रियामा नेपाली कांग्रेस पाणिनी गाउँपालिका वडा नम्बर ७ का वडा सभापति महत्रा ले प्रयोग गरेको अमर्यादित भाषाप्रति तीव्र आलोचना सुरु भएको छ।

पाणिनी–७ मा नयाँ क्रियाशील सदस्यता सम्बन्धी सार्वजनिक सूचनामा ‘नयाँ थप: ०’ अंक देखिएपछि सोही सूचनामा उल्लेख भएको तथ्य संवाददाताले व्यक्तिगत फेसबुक पोस्टमार्फत राखेका थिए। उक्त पोस्टको प्रतिक्रियामा वडा सभापति महत्राले “कुन पार्टीको मान्छे होस्”, “सामाजिक प्राणी जस्तो कुरा गर्छस्” र “पशुभन्दा तल” जस्ता शब्द प्रयोग गर्दै व्यक्तिगत अपमान र मानहानी गरेको देखिन्छ।
सार्वजनिक सूचनामा आधारित तथ्य प्रस्तुत गर्दा त्यसको खण्डन प्रमाण र विवरणमार्फत गर्नुपर्नेमा जिम्मेवार राजनीतिक पदमा बसेका व्यक्तिबाट गाली–गलौज हुनु लोकतान्त्रिक संवाद र राजनीतिक मर्यादाविपरीत भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
विशेषगरी, भदौ २३ र २४ गतेको जिन्जी आन्दोलनपछि पनि पुराना राजनीतिक दलका नेताहरूको व्यवहारमा सुधार नदेखिएको भन्दै आलोचकहरूले सार्वजनिक बहसमा नेताहरूको जिम्मेवारी, व्यवहार सुधार र उत्तरदायित्व आवश्यक भएको उल्लेख गरेका छन्।
साथै, धेरैले महत्रालाई उक्त अपमानजनक शब्दहरू फिर्ता लिन माग गरेका छन्। युवाहरू र नागरिक समाजका व्यक्तिहरूले उक्त टिप्पणी कुनै एक व्यक्तिमाथि मात्र नभई समग्र सचेत युवा जमातप्रतिको अपमान र मानहानी भएको भन्दै, बल प्रयोग वा अपशब्दको सट्टा बुद्धि, विवेक र जिम्मेवार भाषाले समाज चल्ने भन्दै राजनीतिक दलका प्रतिनिधिबाट उच्च आचरणको अपेक्षा गरेका छन्। घटनाले स्थानीय तहमा राजनीतिक नेतृत्वको भाषा, आचरण र सार्वजनिक उत्तरदायित्वबारे गम्भीर बहस जन्माएको छ।
